यस्तो छ आसामभित्रको नेपाल

हिमाल प्रेस २२ पुष २०७९ १३:४४
4
SHARES
यस्तो छ आसामभित्रको नेपाल

झापा- ६० वर्षअघि वर्माबाट बुबासँगै आसाम झरेका ७९ वर्षीय भीम दाहाल राडीको खास्टो ओढेर पुसको न्यानो घाममा तामुलपानको मिठास लिँदै गरेको भेटिए। ‘बाहिरी चिसोलाई खास्टोले छेक्छ, तर भित्री जाडो हटाउन चाहिँ यो तामुल (सुपारी) नचपाई हुँदैन,’ भारतको आसाम प्रान्तको नेपाली भाषी बहुल उदालगुढीको नेपालपाडास्थित दाहाल निवासमा पुग्दा उनले सुनाए, ‘वर्मादेखि आसामसम्म सयौँ गाईगोठ पालेर गाखिर (दूध) बेच्दै जीवन बिताइयो, अब बुढेसकालमा यही आँगन परदेश भो।’

जीजुबाजेहरू नेपालको तेह्रथुमबाट मुग्लान भासिने क्रममा वर्मा र आसामतिर पुगेको सुनाउँदै उनले अहिले नेपालतिर आफन्तहरू भए तापनि आफ्नो चाहिँ देश भनेकै आसाम भएको बताए। भुटान र अरुणाचलको नजिक दूरीमा रहेको आसामको उदालगुढी भीम दाहाल जस्तै लाखौँ नेपालीको सघन बसोबास भएको जिल्ला हो। त्यहाँको नेपालपाडा, रौता लगायतका क्षेत्रहरूमा ठूलाठूला नेपाली बस्ती छन्। नेपाली भाषीको हजारौँ घरहरू भएको नेपालपाडाको बाक्लो बस्ती पुग्दा जोकोहीलाई ‘आसामभित्रको नेपाल’ अनुभूति हुन्छ।

नेपालपाडा पनि पूर्व, पश्चिम, दक्षिण र उत्तर गरेर विभिन्न बस्तीमा बाँडिएको छ। यहाँका ९५ प्रतिशत बासिन्दा नेपाली मूलका छन्। पुराना बासिन्दामध्येका दाहाल भन्छन्, ‘सबै जातिका नेपाली मिलीजुली बसेका छौँ।’ त्यहाँका नेपालीले आफूलाई गोर्खा वा रैथाने आसामी जातिका रूपमा चिनाउँछन्। उनीहरू नेपाललाई पुर्ख्यौली थलोका रूपमा माया गर्न रुचाउँछन्।

नेपालीबाहेक त्यहाँ आदिवासी बोडो (मेचे), कछाडे (आसामी), बंगाली (मुस्लिम), आदिवासी सन्थाललगायतका जातिको बसोबास छ। नेपाली बस्तीको बीचबीचमा अरू जातिको थोरै घरबास भएको हुँदा उनीहरू पनि नेपाली भाषा र रहनसहनमा घुलमिल भइसकेका छन्।

इतिहासकारहरूका अनुसार ब्रह्मापुत्र र धनसिरी नदीको उर्वर र फराकिलो किनारमा १८औँ शताब्दीको सुरुआततिर नै गाईपालन गर्न नेपालीहरू आसाम पुगेका थिए। त्यसबेलाको खोरिया (जंगल) फँडानी गरेर नेपालीहरूले आसामलाई गुल्जार र उर्वर खेतीयोग्य बनाएको मानिन्छ। अंग्रेजको शासनबाट स्वतन्त्र हुनुभन्दा धेरै अघिदेखि नै बसोबास गरेका कारण आसामे नेपालीहरू आफूलाई प्रवासी नभएर रैथाने भूमिपुत्र ठान्दछन्।

पश्चिम नेपालपाडामा ५७ वर्षअघि जन्मिएको बताउने गणेश न्यौपानेले १२ वर्षसम्म अरुणाचल प्रान्तको एउटा जिल्ला अदालतमा जागिरे जीवन बताए। जागिरबाट अवकाश भएपछि उनी पूर्व नेपालपाडामा आरामको जीवन बिताइरहेका छन्। थलामा लहिनो गाई र बाछी स्याहार्दै गरेको अवस्थामा भेटिएका न्यौपानेले सुनाए, ‘जिन्दगी अच्छासँग चलिरहेको छ। छुट्टीमा छोराहरू आएको बेला नेपाल गएर पशुपतिनाथको दर्शन गर्ने इच्छा छ।’ उनका छोराहरू बैंलोरमा जागिर गर्छन्।
पाँच बिघा जग्गा भएका उनले बारीभरि तामुल (सुपारी) लगाएका छन्। त्यसबाट मनग्ये आम्दानी भएको उनी बताउँछन्। गोठमा गाई, गोरु र बाच्छाबाच्छी धेरै पालिएका थिए। जागिरबाट अवकाश हुँदा पाएको एकमुष्ट पैसा र छोराहरूले बैंगलोरबाट महिनैँपिच्छे पठाउने पैसाले घर व्यवहार सुखैसँग चलिरहेको उनको भनाइ छ।

खेतीकिसानी गर्दै आएका पूर्व नेपालपाडाका हिरा क्षेत्रीले खाली ठाउँ मासिँदै गएका कारण गाईवस्तु पाल्न कठिनाइ हुँदै गएको गुनासो सुनाए। नेपालपाडाका हरेक नेपालीका गोठमा बँधुवा गाईवस्तु देखिन्छ। ‘खोला किनार र जंगल छेउछाउ पहिलापहिला खाली जग्गा धेरै हुन्थ्यो, तर अहिले सबैतिर मानिसको बसोबासले भरिभराउ भइसक्यो,’ क्षेत्रीले भने, ‘अब आफ्नै ग्वाली र आँगनमा गाईवस्तु बाँधेर प्वाली (धानको पराल) र घाँस दिनुको विकल्प छैन।’

आसाममा बस्ने अधिकांश नेपालीको घर सानो र भुइँतलाको हुन्छ। नेपालमा जस्तै उनीहरू संयुक्त परिवारमा बाजेबज्यैदेखि नातिनातिनासम्म मिलेर बस्छन्। इतिहासको कुनै कालखण्डमा नेपालदेखि डुल्दै फिर्दै आसाम पुगेका नेपालीहरू अहिले पनि पुर्खाले जस्तै गाईवस्तु पाल्छन् र खेती किसानी गर्छन्। परम्परागत पेसा नछाडेका उनीहरुमध्ये थोरै नेपालीले मात्र व्यापार र जागिरे जीवन रोजेका छन्।

नेपालीहरू यसरी भए रैथाने

इतिहासकारहरूका अनुसार ब्रह्मापुत्र र धनसिरी नदीको उर्वर र फराकिलो किनारमा १८औँ शताब्दीको सुरुआततिर नै गाईपालन गर्न नेपालीहरू आसाम पुगेका थिए। त्यसबेलाको खोरिया (जंगल) फँडानी गरेर नेपालीहरूले आसामलाई गुल्जार र उर्वर खेतीयोग्य बनाएको मानिन्छ। अंग्रेजको शासनबाट स्वतन्त्र हुनुभन्दा धेरै अघिदेखि नै बसोबास गरेका कारण आसामे नेपालीहरू आफूलाई प्रवासी नभएर रैथाने भूमिपुत्र ठान्दछन्।

सन् १८२४ देखि १८२६ सम्म वर्मासँग भएको भीषण युद्धमा परिचालन गर्न अंग्रेजहरू (इस्ट इन्डिया कम्पनी) ले गोर्खा सैनिकको ठूलो संख्यालाई आसाम पुर्‍याएका थिए। उतिबेला वर्मेली मूलका शासक रहेको अलग राज्य आसाम अंग्रेजसँगको युद्धमा वर्मा पराजित भएपछि अंग्रेज अधिनस्थ भयो। युद्धपश्चात् गोर्खा सैनिकको रूपमा रहेका नेपालीहरू आसाममै बसोबास गरेको इतिहासमा उल्लेख छ।

सन् १८५३ मा आसाममा चियाखेती प्रारम्भ हुँदा र सन् १८८९ तिर डिगबोईमा तेलखानी फेला परेपछि कामदारको रूपमा हजारौँ नेपालीलाई अंग्रेजहरूले लगेका थिए। ती नेपाली पनि आसाममै पसिना बगाउँदै रैथाने भएको मानिन्छ। कोइलाखानी र अरू काम गर्न वर्मा (म्यान्मा), भोटाङ (भुटान), अरुणाचल, मेघालयलगायत स्थानमा पुगेका नेपाली समेत ब्रह्मपुत्र र धनसिरी नदीको मनमोहक किनारमा बस्ती बसाउँदै रमाउन पुगे।

आसामे धरतीलाई उर्वर बनाउने नेपालीहरू अंग्रेज शासनमा फौजी, चियाखेती, खानी, कृषि र पशुपालनमा मात्र सीमित रहेनन्। अंग्रेजविरुद्ध सञ्चालन भएको आजाद आन्दोलन (स्वतन्त्रता संग्राम)मा नेपालीहरू प्रत्यक्ष रूपमा सामेल भए। छविलाल उपाध्याय आसामका पहिलो भारतीय स्वतन्त्रता सेनानी मानिन्छन्।

अधिकांश युवा काम खोज्दै सहरतिर

आसामको राजनीतिक, सामाजिक र आर्थिक विकासमा उल्लेख्य योगदान पुर्‍याएका आसामेली नेपालीहरु शताब्दियौँदेखि कृषि र पशुपालन पेसाकै वरिपरि रुमल्लिरहेका छन्। केहीले सहरमा सुरक्षा गार्ड र विभिन्न किसिमका जागिर गरे तापनि कृषिमै अल्झिरहनुमा नेपाली समुदायमा शिक्षा र चेतनाको कमी नै मुख्य कारण हो। ‘पढेर जागिर पाउन गाह्रो छ, त्यही भएर अहिलेका युवाहरु हाई स्कुलको पढाइ सिध्याएपछि सहरतिर चाकरी खोज्नतिर जान थालेका छन्,’ उदालगुढीको धनसिरीघाटमा छोटाहात्ती (सानो गाडी)को चालक इन्द्र बस्नेत भन्छन्, ‘नेपालको जस्तो अरब र युरोपतिर काम गर्न जाने चलन आसामतिर छैन। उही गाईवस्तु पाल्नुपर्‍यो, कि त खेतीपाती छँदैछ।’

बस्नेतले खेतीपाती छाडेर गाडी किनेको र त्यसकै चालक आफैं बनेर जीविका चलाइरहेको जानकारी दिए। उनी नेपालीहरूलाई कुनै समस्या पर्दा सहयोग गर्ने सामाजिक काममा पनि समय दिने रहेछन्। आसामका नेपाली युवाका लागि दक्षिण भारतको बैंगलोर पहिलो रोजगारीको गन्तव्य भएको र त्यसपछि गुवाहाटी र अरू सहर जाने गरेको बस्नेतले बताए। सहरमा गएर उनीहरू सुरक्षा गार्ड, होटलको कुक, वेटर, पसल र गोठको कामदार काममा लाग्ने गरेका छन्।

गरिबी, असुरक्षा र विरानोपनमा न्यास्रिएर शताब्दीयौँदेखि आसामको माटोमा पसिना सिञ्चित गरिरहेका नेपाली मूलका बहुसंख्यक बासिन्दाको आर्थिक पाटो सुखद छैन। उनीहरूको शैक्षिक, राजनीतिक र सामाजिक हैसियत पनि सन्तोषजनक छैन।

नेपालपाडाका चन्द्र दाहाल आसामको राजधानी गुवाहाटीस्थित स्प्रिङ भ्याली नामक स्टार होटलको सुरक्षा गार्डमा कार्यरत छन्। उनका अनुसार गुवाहाटीका धेरै गाईगोठ, डेरी र होटलमा नेपालीमूलका कामदारको बाहुल्य छ। ‘धेरै पढ्न लेख्न नजान्नेहरू डेरी, होटल र पसलमा काम गर्नुहुन्छ, अलिक जान्ने र पढेकाहरूले अझ राम्रो काम पनि पाउनुभएको छ,’ उनले भने।

परम्परागत निर्वाहमुखी खेतीले परिवार पाल्न धौ धौ पर्ने भएकाले अधिकांश युवा वैकल्पिक रोजगारीको खोजीमा गाउँबाट पलायन हुन थालेको आसामकै दराङ जिल्लाको मंगलदोयका ५५ वर्षीय प्रेमबहादुर गेलाल बताउँछन्। मंगलदोय बजारमा गाखिर (दूध)को व्यवसाय सञ्चालन गर्दै आएका उनले गाउँका सबै साथीहरू बैंगलोर, दिल्ली, मुम्बुई र गुवाहाटीमा रोजगारी खोज्न गए तापनि आफूले गाउँमै बसेर दुग्धजन्य व्यापार चलाउँदै जीविका धान्दै आएको बताए।

पशुपालन र कृषि पेसा नाफामूलक नहुनु र जीविका चलाउन गाह्रो पर्दै जानुले गाउँबाट युवा पलायन हुन बाध्य भएको मंगलदोय लावण्यचोककी लीला बुढाथोकीको धारणा छ। ‘धेरै पढाइ गर्न सक्यो भने जागिर पाइन्छ, तर हाम्रा नेपालीहरू हाई स्कुल पढेपछि काम खोज्न सहरतिर जाने बानी लागेकाले पढाइ छाड्छन्,’ शिक्षाको महत्त्व नबुझ्दा दुःख पाएको बताउँदै बुढाथोकी भन्छन्। गाउँमा आसामी र अंग्रेजीमा पठनपाठन हुने विद्यालयहरू छन्। नेपालीमूलका विद्यार्थीहरू नेपाली भाषा घरमा मात्र बोल्छन्। विद्यालयमा आसामी भाषा नै प्रयोग गर्छन्।

आसाममा नेपालीहरू धान, मकै, तोरी, आलु, गहुँलगायतका अन्न तथा तरकारी खेती गर्छन्। उनीहरूको आम्दानीको अर्को महत्त्वपूर्ण स्रोत सुपारी खेती हो। सुपारीको टुक्रा र पानको पातले पाहुनालाई स्वागत गर्ने चलन आसामको सबै जातिमा रहेको छ।

जोगाएकै छन् मौलिक संस्कृति

आर्थिक क्षेत्रमा कमजोर रहे तापनि आसामका नेपाली आफ्नो सांस्कृतिक पहिचान संरक्षणका विषयमा भने सचेत छन्। आँगनमा तुलसीको मोठ नभएको नेपालीको घर नै हुँदैन। बिहान बेलुका घरहरूमा पूजापाठको घण्टी बजेको सुनिन्छ भने साप्ताहिक रूपमा घरैपिच्छे सामूहिक भजनकीर्तन गाउने चलन छ।

‘दसैँ तिहार आउँदा आँगनभरि सयपत्री फुलाउँछौँ, टीका लगाउँछौँ, देउसीभैली खेल्छौँ,’ मंगलदोय हाई स्कुलमा कक्षा ९ मा अध्ययन गरिरहेकी प्रिया क्षेत्री भन्छिन्। विवाह, व्रतबन्ध, माघे संक्रान्ति, चैतेदसैँजस्ता चाडपर्वमा सबै नेपाली छरछिमेकी र आफन्त भेला हुँदा रमाइलो लाग्ने क्षेत्रीको अनुभव छ। चाडपर्व र पूजाहरूमा नेपाली मौलिक पोसाक लगाएर नेपाली गीतमा नाचगान हुने गरेको समेत उनले जानकारी दिइन्। गाउँका पाकाहरू ढाका टोपी लगाउन रुचाउँछन् भने विवाहित महिलाहरू सिउँदोमा सिन्दूर र गलामा पोते लगाउन बिर्संदैनन्।

गरिबी, असुरक्षा र विरानोपनमा न्यास्रिएर शताब्दीयौँदेखि आसामको माटोमा पसिना सिञ्चित गरिरहेका नेपाली मूलका बहुसंख्यक बासिन्दाको आर्थिक पाटो सुखद छैन। उनीहरूको शैक्षिक, राजनीतिक र सामाजिक हैसियत पनि सन्तोषजनक छैन। आसामका १२ लाखभन्दा बढी नेपाली भाषीहरू नुनिलो आँसुको ढिक्का पिएरै भए तापनि र्पुख्र्योली नेपाली भाषा, संस्कृति, संस्कार र परम्परालाई भने जोगाउन सफल छन्। -चन्द्रकला भण्डारी/रासस

प्रकाशित: २२ पुष २०७९ १३:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast