कांग्रेसले भन्यो : प्रचण्डलाई नेतृत्व दिएर गठबन्धन जोगाउन समय नै पाएनौँ

'गठबन्धन टुट्नुमा कांग्रेस दोषी छैन'

हिमाल प्रेस २० पुष २०७९ १५:३३
108
SHARES
कांग्रेसले भन्यो : प्रचण्डलाई नेतृत्व दिएर गठबन्धन जोगाउन समय नै पाएनौँ

काठमाडौँ- नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले कांग्रेस नेतृत्वको गठबन्धन जोगाउने विषयमा छलफल गर्न समय नै नपाएको बताएका छन्। पार्टी मुख्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै महतले निर्वाचनमा आएको मतको आधारमा कांग्रेसले सरकारको दाबी गरेको तर प्रचण्डले विगतका नीतिगत सम्झौताहरू भुलेर गठबन्धन टुटाएको आरोप हुन्।

‘कांग्रेसले कहिँ कतै वैकल्पिक शक्ति जुटाएर नेतृत्व लिनेतर्फ प्राथमिकता दिएन। गठबन्धन टुट्नु र प्रचण्डजीले छोडेर जानुमा कांग्रेस दोषी छैन,’ उनले भने, ‘प्रचण्डजीलाई नेतृत्व दिएर गठबन्धन जोगाउने विषयमा छलफल गर्ने समय प्राप्त नै भएन। गठबन्धनबाट चुनावमा जाँदा अपेक्षाकृत नतिजा नआए पनि सन्तोषजनक नतिजा आयो। त्यसबेलाका प्रतिबद्धताबाट हामी पछि हटेनौँ प्रचण्ड हट्नुभयो।’

उनले प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन किन फुटाए भन्ने विषय छिटै सार्वजनिक हुने पनि विश्वास व्यक्त गरे। कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति आफैँ राख्ने अडान राखेपछि कांग्रेससहितको गठबन्धनबाट बाहिरिएर प्रचण्डले आफूले प्रधानमन्त्री लिएर एमालेसहितको गठबन्धनमा सरकारको नेतृत्व गरिरहेका छन्।

अहिले सरकारमा भएका दलहरू विभिन्न स्वरुपका भएकाले परिणाम दिन नसक्ने महतको दाबी छ। ‘अहिलेको गठबन्धन राजतन्त्र चाहिन्छ भन्ने, गणतन्त्र हुनुपर्छ, संघीयता चाहिन्छ-चाहिँदैन भन्ने विभिन्न स्वरुप रुप रंगका दलका नेताको पदीय चाहनाबाट गठबन्धन बनेको छ,’ उनले भने, ‘ विचारमा दृष्टीकोण छैन। यहाँ कुन दलले कति ठूलो जिम्मेवारी लिनेमात्रै कुरा छ। यसले परिणाम दिँदैन।’

राष्ट्रिय स्वतन्त्र पार्टी पनि पदको लोभमा हराएको उनको आरोप छ। चुनावको बेलामा ‘नो नट अगेन’ भनेर अहिले कुन पद पाइन्छ भनेर तिनै नेताको नेतृत्वमा सामेल भएको भन्दै उनले आलोचना गरेका हुन्। उनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई इंकित गर्दै भने, ‘कन्टेन्ट भन्दा देखाउने कुरा ज्यादा ध्यान दिएको हामीलाई लागेको छ।’

प्रकाशित: २० पुष २०७९ १५:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =