पाँच लाख खर्च गरेर बाबुको ‘हत्या’

हिमाल प्रेस २० पुष २०७९ १२:०२
64
SHARES
पाँच लाख खर्च गरेर बाबुको ‘हत्या’

जनकपुरधाम- धनुषाका एक व्यक्तिले बाबुको हत्या गर्न पाँच लाख रुपैयाँ खर्च गरेको पाइएको छ। मुखियापट्टी मुसहरनियाका धानुक दासको हत्यामा छोरा प्रदीपको संलग्नता रहेको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट पत्ता लगाएको हो।

जिल्ला प्रहरी कार्यालय धनुषा स्रोतका अनुसार छोरा प्रदीपले पाँच लाख रुपैयाँमा सुटरसँग डिल गरेर हत्या गराउन लगाएको अनुसन्धानबाट खुलेको छ। धानुकको हत्यामा संलग्न रहेको आरोपमा छोरा प्रदीप र ज्वाइँ उदय दाससहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्ने अर्का व्यक्तिमा धनुषाको नगराइन नगरपालिकास्थित जटहीका रञ्जित यादव छन्।

घरमै किराना पसल चलाइरहेका दासको पुस ९ गते साँझ गोली हानेर हत्या भएको थियो। मोटरसाइकलमा आएका दुई अपरिचित व्यक्तिले दासमाथि गोली प्रहार गरी फरार भएका थिए। गोली लागेर गम्भीर घाइते भएका दासलाई उपचारका लागि जनकपुरधाम ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो।

सुटरहरूलाई दुई पटकमा गरी तीन लाख रुपैयाँ दिइएको र दुई लाख रुपैयाँ दिन बाँकी थियो।

उदय दास मधेश प्रहरी कार्यालय जनकपुरमा चालकमा कार्यरत छन्। तीनै जनालाई मधेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको थियो। घटनामा संलग्न रहेको अर्का भारत बिहारको खजुलीका आकाश भनिने सोनु मिश्रा फरार छन्।

घरमा सम्पत्तिको विवाद चलिरहेको र सोही कारण छोरा र ज्वाइँ मिलेर उनको हत्याको योजना बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रकाशित: २० पुष २०७९ १२:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − two =