काठमाडौँ- चीन पछिल्लो समय कोभिड–१९ को नयाँ लहरबाट प्रभावित छ। महामारी नियन्त्रणका लागि लामो समय लागू गरिएको नियम केही खुकुलो बनाइएकै बेला संक्रमणमा पर्नेको संख्या बढेको हो।
नयाँ लहरले चीन छोपिँदा पूरा विश्व नै सशंकित बनेको छ। चिनियाँ सहरहरूमा संक्रमितको संख्या बढ्दा छिमेकी देशहरू डराएका छन्। डरको अर्को कारण हो, ताजा अवस्था, संक्रमितको संख्या र अन्य आवश्यक सूचना दिन नमान्ने चीनको बानी।
चीनले आफ्नो देशभित्र नयाँ लहर सुरु भएको स्वीकार गरिसकेको छ। सँगसँगै उसले के पनि भनेको छ भने, नयाँ संक्रमितको संख्या यकिन गर्न सकिने अवस्था छैन। गत महिनाबाटै अनिवार्य ‘मास टेस्टिङ’ को नियम अन्त्य भएकाले अब सरकारीस्तरबाट संक्रमितको संख्या र अन्य तथ्यांक दिन नसकिने बेइजिङको भनाइ छ।
चीनको राष्ट्रिय स्वास्थ्य परिषद्ले देशभर भएका र दिनहुँ थपिने संक्रमितबारे जानकारी दिन छाडिसकेको छ। जबकि उसले विगतमा दैनिक रुपमा जानकारी प्रकाशन गर्ने गरेको थियो।
अब यो जिम्मा चाइनिज सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)ले लिएको छ। जसले महिनाको एकपल्ट मात्र तथ्यांक बाहिर ल्याउँछ।
आउँदो जनवरी ८ बाट चीनमा कोभिड नियम थप खुकुलो बनाइँदैछ। नेगेटिभ आएको पीसीएर रिपोर्ट बोकेर जोकोही पनि चीन प्रवेश गर्न सक्नेछन्। क्वारिन्टिनको नियम पनि हट्नेछ भने स्थानीय सरकारले पूरै सहर वा क्षेत्रमा लकडाउन गर्न पाउने छैन। अन्तर्राष्ट्रिय उडान पनि बढाइनेछ।
चीनले गत डिसेम्बर ७ बाट कोभिड सम्बन्धी नियममा पहिलो चरणको परिवर्तन गरेको थियो। त्यसयता आठ जनाले मात्र कोभिडका कारण ज्यान गुमाएको तथ्यांक बाहिर ल्याइएको छ। यस्तोमा चीनबाहिर भइरहेको शंका हो, चीनले नयाँ लहरमा मृत्यु भएकाको तथ्यांक सही ढंगले राखेको छैन कि त राखिएको तथ्यांकलाई बाहिर ल्याएको छैन।
उसो त चिनियाँ अधिकारीहरुले पहिलेकोभन्दा कम तथ्यांक संकलन भइरहेको बताएका छन्। तथ्यांक संकलन साँघुरो बनाइएको उनीहरुको भनाइ छ। सीडीसीका प्रतिनिधि यिन वेन्यु अस्पताल र स्थानीय निकायबाट आएका तथ्यांकलाई मात्र संकलन गरिरहेको बताउँछन्।
मृतक र संक्रमितको संख्या कम देखाइए पनि चिनियाँ अस्पताल तथा मुर्दाघरहरूले भिड थाम्न सकिरहेका छैनन्। विशेषगरी ग्रामिण भेगहरूमा मृतक र संक्रमितको संख्या ह्वात्तै बढेको बताइँदैछ।
पछिल्लो महिना चीनका धेरै ठाउँबाट मृतक र संक्रमितको संख्या बढ्न थालेको रिपोर्ट आएका थिए। अनुमानित संख्या बाहिर ल्याइएको भए पनि नयाँ लहरको प्रभाव ठ्याक्कै कत्रो छ भन्ने अनुमान लगाउन सकिएको थिएन।
चीनमा सम्पन्न प्रान्त मानिने झेझियाङका स्वास्थ्य अधिकारीहरूले गत साता प्रत्येक दिन करिब १० लाख स्थानीय संक्रमणमा परिरहेको बताएका थिए। त्यहाँका कुझौ र झाउसेन सहरले करिब ३० प्रतिशत जनसंख्या संक्रमित भएको जनाएका छन्।
त्यसैगरी चीनको पूर्वीसहर किङडाओ सहरमा प्रत्येक दिन करिब पाँच लाख र दक्षिणी भेगमा रहेको डोनगुवानमा करिब तीन लाख स्थानीय नागरिक संक्रमित भइरहेको बताइन्छ। हैनान प्रान्तमा संक्रमण दर ५० प्रतिशत नाघेको छ। चीनका उच्च पदस्थ स्वास्थ्य अधिकारी वु जुन्युले बेइजिङ, छेन्दु र तियानजिन सहरमा संक्रमण दर उत्कर्षमा रहेको बताउँछन्।
सांघाईका सरुवा रोग विशेषज्ञ झाङ वेनहोङले चीनका सरकारी सञ्चारमाध्यमहरूसँग सांघाई सहरका करिब एक करोड स्थानीय संक्रमणमा परेको तथ्यांक प्रस्तुत गरेका छन्। पछिल्लो समय चुहिएको सरकारी रिपोर्ट अनुसार गएको डिसेम्बर २० सम्म चीनका करिब २५ करोड मानिसमा संक्रमण देखिएको छ। हङकङका शोधकर्ताहरूले यो जाडोमा करिब १० लाख चिनियाँको कोभिड संक्रमणबाट मृत्यु हुनसक्ने चेतावनी दिएका छन्।
चीनमा देखा परेको लहरलाई लिएर चिन्नतित विभिन्न देशले नयाँ भेरिएन्टको विकास भयो कि भन्ने डर व्यक्त गरिरहेका छन्। यद्यपि नयाँ भेरिएन्टबारे केही प्रमाण फेला परिसकेको छैन।
सीडीसीका प्रतिनिधि सु वेन्बोले गत महिना चीनले आफ्ना सबै नागरिकको जेनेटिक डाटावेस निर्माण गरिरहेको बताएका थिए। कोभिड परीक्षण गर्दा संकलन गरिएको नमूनाबाट नयाँ डाटावेस निर्माण भइरहेको हो। यो डाटावेसका कारण कोभिड महामारी र नयाँ लहर सम्बन्धी नयाँ सूचना संकलन गर्न सकिने चीनको विश्वास छ।
चिनियाँ स्वास्थ्य विशेषज्ञहरूले चीनमा पछिल्लो दिनमा ओमिक्रोनको बीए.५.२ र बीएफ.७ सबभेरिएन्ट सक्रिय रहेको जनाएका छन्। विशेषगरी सांघाईमा ओमिक्रोन सक्रिया रहेको बताइन्छ। स्थानीय स्तरमा डेल्टा सक्रिय छ भन्ने हल्ला फिजिएपछि चीनले औपचारिक रूपमै सबभेरिएन्टबारे सूचना दिएको हो।
युरोप र अमेरिकामा भने एक्सबीबी र बीक्यु नाम गरेका भेरिएन्ट सक्रिय रहेको बताइन्छ। यी भेरिएन्ट ओमिक्रोनभन्दा सजिलै फैलने खालका छन्।
चीनले गत महिना ग्लोबल डाटावेसलाई ओमिक्रोनबाट संक्रमितहरूको तीन सय ८४ स्याम्पल बुझाएको थियो। चीनले बुझाएको स्याम्पल अमेरिका, बेलायत, क्याम्बोडिया, सेनेगल लगायतले बुझाएका स्याम्पलभन्दा निकै कम हो।
युनिभर्सिर्टी अफ हङकङसँग आबद्ध विशेषज्ञ जिन डोङ यान चीनको नयाँ लहरले तर्सिनु नपर्ने बताउँछन्। ‘विश्वका धेरै ठाउँमा मास इन्फेक्सन देखिएको छ। तर त्यसबाट नयाँ भेरिएन्ट जन्मिएको देखिएको छैन। चीनमा नयाँ भेएिन्ट जन्मिदै जन्मिदैन भन्ने होइन, यसको सम्भावना छ। यद्यपि त्यो सम्भावना कम छ,’ जिनले भनेका छन्।
एएफपीको सहयोगमा