आर्सनलमा ओडेगार्ड : कप्तान, प्लेमेकर र निर्णायक

हिमाल प्रेस १८ पुष २०७९ १४:०९
48
SHARES
आर्सनलमा ओडेगार्ड : कप्तान, प्लेमेकर र निर्णायक

इंग्लिस प्रिमियर लिगको नयाँ सिजन सुरु हुन ६ दिन बाँकी थियो, आर्सनलले मार्टिन ओडेगार्डलाई नयाँ कप्तान बनाइएको घोषणा गर्‍यो। इमिरेट्स रंगशाला पुगेको १८ महिनामै कप्तान? ओडेगार्डमाथि प्रश्न नउठेका होइनन्। तर उठेका प्रश्नको जवाफ ओडेगार्डले दिइसकेका छन्, आर्सनललाई शीर्षस्थानमा पुर्‍याएर।

आर्सनलले हाल च्याम्पियन म्यानचेस्टर सिटीमाथि सात अंकको अग्रता कायम गरेको छ। हुन त प्रिमियर लिगमा आधा खेल पनि सकिएका छैनन्। यसकारण उपाधि विजेताबारे अहिल्यै अनुमान गर्न गाह्रो छ। यद्यपि के चाहिँ तथ्य हो भने, आर्सनल सिटी जत्तिकै बलियो दाबेदार हो। १६ मध्ये १४ खेल जित्नु यसको प्रमाण हो।

युवा खेलाडीले भरिएको आर्सनलको प्रदर्शन लोभलाग्दो छ। गाब्रियाल मर्टिनेली र बुकायो साका जस्ता खेलाडीको प्रदर्शनले प्रिमियर लिग समर्थकको ध्यान तानेको छ। मार्टिनेली सात गोल गरेका छन्। साकाको नाममा ६ गोल छ। साकाले ६ असिस्ट पनि दर्ता गरेका छन्।

यति हुँदाहुँदै आर्सनलका मुख्य खेलाडी चाहिँ ओडेगार्ड हुन्। किनभने उनले मार्टिनेलीले जत्तिकै गोल गरेका छन्। अनि साकाको भन्दा एक कम असिस्ट उनको नाममा छ। गोल र असिस्ट गर्ने कुरा त छँदैछ, मैदानमा उनले निर्वाह गर्ने नेतृत्वदायी भूमिका झनै अमूल्य छ।

अंक तालिकामा सिटीलाई थप पछि पार्न आर्सनलले गत शनिबार ब्राइटनलाई ४–२ ले पराजित गर्‍यो। त्यस खेलमा ओडेगार्डले ‘वान टच’ गोल गरेका थिए। गोलभन्दा असिस्ट लोभलाग्दो थियो। आफ्नै रक्षात्मक क्षेत्रबाट उनले निकालेको लामो पासले ब्राइटनको मिडफिल्ड र रक्षापंक्तिलाई छिचोलेको थियो। त्यही बललाई नियन्त्रणमा लिएर मार्टिनेलीले सजिलै गोल गरे।

प्रिमियर लिगका विश्लेषकहरुले ओडेगार्डलाई सिटीका प्लेमेकर केभिन डे ब्रुएनासँग दाँज्न थालेका छन्। यो सिजन नौ असिस्ट दर्ता गरिसकेका ३१ वर्षीय बेल्जियन मिडफिल्डरलाई लिगमै ‘उत्कृष्ट पास’ खेल्ने खेलाडी मानिन्छ।

‘ओडेगार्डको त्यो पास (ब्राइटनविरुद्ध) गजबको थियो। उनको जस्तो पास निकाल्ने खेलाडी आर्सनलमा अरु कोही छैनन्। पूरै लिगको कुरा गर्ने हो भने यस किसिमको पास डे ब्रुएनाले सिर्जना गर्न सक्छन्। डे ब्रुएनाबाहेक? म त कोही देख्दिनँ,’ बेलायती टेलिभिजन स्काई स्पोर्ट्ससँग पउल मेर्सनले भनेका छन्।

ओडेगार्डलाई सन् २०२०÷२१ सिजनको जनवरीमा आर्सनलले रियल म्याड्रिडबाट अनुबन्ध गरेको थियो। त्यसबेला ऋण सम्झौतामा ओडेगार्डको स्थान्तरण सम्पन्न भयो। तर ६ महिनापछि नै आर्सनलले नर्वेजियन मिडफिल्डरलाई स्थायी रुपमै आफ्नो टिममा राख्ने निर्णय गर्‍याे। त्यसका लागि आर्सनलले तिरेको रकम थियो, तीन करोड ५० लाख युरो।

जुन मेसुट ओजिलका लागि तिरिएको रकमभन्दा कम थियो। जर्मन प्लेमेकरका लागि रियलले सन् २०१३ मा चार करोड २५ लाख युरो लिएको थियो। ओजिल केही सिजन रियलमा चम्किए पनि ओडेगार्डले भने स्पेनिस राजधानीको क्लबमा मौका पाएनन्।

ओजिल आर्सनलमा सात सिजन रहे। कुल दुई सय ५४ खेल खेले। त्यसबीचमा उनले ४४ गोल गरे भने ७८ असिस्ट दर्ता गरे। तीमध्ये ३३ गोल र ५८ असिस्ट प्रिमियर लिगका खेलमा थिए। ओजिलको विवादयुक्त स्थान्तरणपछि मिकेल आर्टेटासँग भरपर्दा प्लेमेकेर भएनन्। ओजिलले उत्तरी लन्डन छाड्दा रित्त भएको स्थान ओडेगार्ड लिएका हुन्।

खासमा ओडेगार्ड आक्रामक खेलाडी हुन्। फुटबलमा उनको हुर्काइ सेन्ट्रल मिडफिल्डभन्दा अगाडिको भागमा रहेर भयो। तर आर्सनलमा विशेष गरी जारी सिजन उनी आफ्नो रक्षापंक्तिसँग नजिक रहेर खेलिरहेका छन्। जसलाई फुटबलको प्राविधिक भाषामा ‘डिप मिडफिल्ड’ भन्ने गरिन्छ। त्यहीभएर उनलाई विपक्षी खेलाडीबाट बल खोसिरहेको देखिन्छ। वा विपक्षी खेलाडीविरुद्ध ‘प्रेस’ गरिरहेका हुन्छन्।

‘उनले जे गरिरहेका छन्, त्यो आर्सनलका लागि निर्णायक साबित भइरहेको छ। टिमलाई जिताउन उनी जस्तोसुकै भूमिकामा पनि देखिन तयार छन्,’ आफ्ना कप्तानबारे प्रशिक्षक आर्टेटाले भनेका छन्।

आर्सनल समर्थक ओडेगार्डको खेल देखेर सेस फाब्रिगासलाई पनि सम्झिइरहेका छन्। कतिसम्म भने आर्सनलका पूर्वप्रशिक्षक आर्सन वेंगर नै ओडेगार्डले पूर्वकप्तान फाब्रिगासले जस्तै खेलिरहेको बताउँछन्। वेंगरले नै फाब्रिगासलाई बार्सिलोनाबाट आर्सनल ल्याएका थिए। त्यसबेला स्पेनिस मिडफिल्डरको उमेर २१ वर्ष थियो। आर्सनलमा आठ सिजन रहेपछि उनलाई बार्सिलोनाले घर फर्काएको थियो।

‘मैले १५ वर्षको फुच्चे ओडेगार्डलाई आर्सनल ल्याउने प्रयास गरेको थिएँ। तर त्यसबेला म सफल भइनँ। अन्ततः उनी रियलको बाटो हुँदै आर्सनलमा आइपुगेका छन्,’ वेंगरले एक टेलिभिजन अन्तरवार्तामा भनेका छन्, ‘उनी युवा फाब्रिगास जस्तै खेल्छन्। धैर्यपूर्व खेलको परिस्थिति अध्ययन गर्छन्, निर्णय लिन्छन्।’

नियमित कप्तान पियर एमेरिक आबुमेयाङले क्लब अनुशासन तोडेपछि आर्टेटा नयाँ कप्तानको खोजीमा थिए। बीचमा फरक फरक खेलाडीले आर्सनलको कप्तानी गरे पनि आर्टेटाले नयाँ पूर्णकालिन कप्तानबारे निर्णय लिएका थिएनन्। यो सिजनको सुरुवातमा भने टिममा सिनियर खेलाडी हुँदाहुँदै आर्टेटाले ओडेगार्डलाई कप्तान बनाउने निर्णय सुनाए। यसमा आर्टेटालाई कुनै अफसोच छैन।

‘आर्सनलको मूल्य र मान्यतालाई ओडेगार्डले सम्मान गरेका छन्। उनी नर्वेको राष्ट्रिय टिमको समेत कप्तान हुन्। यसकारण उनले आर्सनलको नेतृत्व लिननसक्ने भन्ने हुँदैन। मलाई लाग्छ ओडेगार्डलाई कप्तान बनाउने निर्णय सही थियो,’ कुनै समय आफैँ पनि आर्सनलको कप्तान रहेका आर्टेटाले भने।

प्रकाशित: १८ पुष २०७९ १४:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − two =