नौ महिनापछि पहिलो पटक हार्‍यो पीएसजी

हिमाल प्रेस १८ पुष २०७९ ९:४९
16
SHARES
नौ महिनापछि पहिलो पटक हार्‍यो पीएसजी

काठमाडौँ- गत वर्षको मार्च २० यता कुनै खेल नहारेको पेरिस सेन्ट जर्मेन (पीएसजी) आइतबार राति लान्ससँग ३–१ ले पराजित भएको छ। लियोनल मेस्सी र नेयमारबिनाको पीएसजीलाई हराउन लान्सले तीनै गोल पहिलो हाफमा गरेको थियो।

प्रिज्माइस्ल प्रान्कोस्की, इकोमा लोइस ओपेन्डा र एलेक्सिस क्लाउडेले एक–एक गोल गरे। पीएसजीबाट २० वर्षीय स्ट्राइकर ह्युगो एकिटिकेले एक गोल फर्काए। यो जितसँगै फ्रेन्च लिग वानमा लान्सले पीएसजीसँगको दूरी चार अंकमा झारेको छ। दोस्रो स्थानको लान्सको १७ खेलबाट ४० अंक जम्मा भएको छ भने पीएसजी ४४ अंकसहित शीर्षस्थानमा यथावत छ।

पीएसजी नौ महिनायता पहिलो पटक हारेको हो। सबैखाले प्रतियोगितामा गरी ३१ खेलमा अपराजित रहेको पीएसजी पछिल्लो पटक मोनाकोसँग लिगमा ३–० ले हारेको थियो।

सन् २०२०/२१ सिजन फ्रेन्च फुटबलको पहिलो श्रेणी लिग वानमा फर्किएको लान्सले असाधारण प्रदर्शन गरिरहेको छ। १७ खेलमध्ये एकमा मात्र हार व्यहोरेको लान्सले १२ खेल जितेको छ। जुन लिग वानमा पीएसजीको भन्दा मात्र कम हो। लिग वानमा बढुवा भएको सिजन र गएको सिजन सातौँ भएको लान्सले यसपालि उपाधि दौडमा पीएसजीलाई टक्कर देला भनेर कमैले आकलन गरेका थिए।

लिग वानमा सोमबार भएका अन्य खेलमा टुलुज, नान्ट्स, मोनाको र लोरियन्ट विजयी भए। टुलुजले अजासियोमाथि २–० को जित हात पार्दा नान्ट्सले अजरलाई १–० ले पराजित गर्‍यो। त्यसैगरी मोनाकोले ब्रेस्टलाई १–० र लोरियन्टले आन्जेर्सलाई २–१ ले हराए। लियोन भने क्लेरमाउन्टसँग १–० ले स्तब्ध बन्यो।

लिग वानमा उपाधि दौडसँगै तेस्रो स्थानका लागि पनि कडा प्रतिस्पर्धा भइरहेको छ। शीर्ष दुईमा रहने दुई टिम च्यापियन्स लिगका लागि स्वतः छनोट हुन्छन् भने तेस्रो स्थानको टिमले प्लेअफ खेल्ने अवसर पाउँछ। जसकारण पीएसजी र उसलाई पछ्याउने टिमबाहेकका अरु ठूला टिम तेस्रो स्थानका लागि भिड्ने गर्छन्।

यसपालि तेस्रो स्थान प्राप्त गर्ने दौडमा मार्से, मोनाको र रेन छन्। मार्से र मोनाको समान ३३ अंक बटुलेर क्रमशः तेस्रो र चौथो स्थानमा छन्। मार्सेले १६ र मोनाकोले १७ खेल खेलेका छन्। पाँचौँ स्थानमा रहेको रेनले १६ खेलबाट ३१ अंक जम्मा गरेको छ भने छैटौँ स्थानको लोरियन्टसँग पनि ३१ अंक नै छ।

प्रकाशित: १८ पुष २०७९ ९:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =