काठमाडौँ- चर्च ब्वाइज क्लब पोखरामा जारी आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार पोखरा रंगशालामा मछिन्द्र क्लबमाथि ३–१ को जित दर्ता गर्दै चर्च ब्वाइजले अन्तिम चारमा स्थान पक्का गरेको हो।
यही सिजन सहिद स्मारक ‘ए’ डिभिजनमा बढुवा भएको चर्च व्वाइजले सोही लिग जितेको मछिन्द्रलाई हराउँदा आशिष चापागाईंको दुई गोल गरे। आशिष चौधरीले एक गोल थपे।
आशिष चापागाईंले गोलको खाता पहिलो हाफको २३ औँ मिनेटमा खोलेका थिए। अन्जन विष्टको हेडर प्रहारलाई मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले नियन्त्रणमा लिन नसकेपछि बल आशिष चापागाईंले भेटेका थिए। जसलाई उनले नजिकबाट जाली चुमाए।
आशिष चापागाईंले पहिलो हाफ सकिनै लाग्दा चर्च ब्वाइजको अग्रता दोब्बर बनाए। उनले गोलरक्षक विशाललाई बिट गर्दैै व्यक्तिगत दोस्रो गोल गरेका थिए। दोस्रो हाफको ६४ औँ मिनेटमा राष्ट्रिय टिमका फरवार्ड अन्जनको पासमा आशिष चौधरीले गोल गरेपछि चर्च ब्वाइज ३–० ले अघि बढेको थियो।
खेलमा फर्कने बारम्बार गरेको मछिन्द्रले ८९ औँ मिनेटमा मात्र गोल गर्न सक्यो। मछिन्द्रका लागि सौरभ सुब्बाले एक गोल गरे। जुन मछिन्द्रको हार टार्न पर्याप्त भएन।
विजेता चर्च ब्वाइज र मछिन्द्रले आआफ्ना टिममा राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडी उतारेका थिए। आगामी लिगका लागि टिम निर्माण गरिरहेको चर्च ब्वाइजले अन्जन, अनन्त तामाङ, दिनेश राजवंशी, तेज तामाङ, एरिक विष्टलाई मैदान उतारेको थियो।
उता मछिन्द्रबाट गोलरक्षक विशालसहित विमल घर्ती मगर, हालै मनाङ मर्स्याङ्दी क्लब छाडेका पुजन उपरकोटी, देवेन्द्र तामाङ लगायतले खेलेका थिए। चर्च ब्वाइजले फाइनल प्रवेशका लागि अब मनाङ र अमेरिकाबाट आएको भुटनिज युथ स्पोर्ट्स क्लबबीचको विजेताको सामाना गर्नेछ।