हिजो बोलेका शब्द र मतदातासँग गरेका बाचाको हेक्का छ : गृहमन्त्री रवि लामिछाने

हिमाल प्रेस ७ माघ २०७९ ९:०१ | Saturday, January 21, 2023
हिजो बोलेका शब्द र मतदातासँग गरेका बाचाको हेक्का छ : गृहमन्त्री रवि लामिछाने फाइल तस्बिर

काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सबै पुराना ‘फरार’ समातिने बताएका छन्।

आफूले बोलेका शब्द/शब्दको हेक्का र भोट माग्दा गरेका वाचाहरूको हेक्का रहेको भन्दै मन्त्री लामिछानेले सबै फरार समातिने र नयाँ फरार हुन नदिने बताएका छन्।

‘पुराना ‘फरार’हरू समातिन्छन् मात्र होइन धेरै नयाँहरू फरार हुन नपाउन् भन्ने कुराको हेक्का छ। हिजो बोलेका शब्द शब्दको हेक्का छ, भोट माग्दा गरेका वाचाहरूको हेक्का छ,’ उनले शनिबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्,‘मिडियाको हेडलाइन म बदल्न सक्दिनँ तर जनताको लाइफलाइन बदल्न मेहनत गर्दै छु। धुलो धेरै छ, पुरानो छ। थोरै पर्खिनु चाहिँ पर्छ।’

कर्तव्य ज्यान मुद्दामा तारेख गुजारी फरार रहेका सांसद लक्ष्मी महतो कोइरीलाई प्रक्राउ गर्न नसकेको विषयमा गृहमन्त्रीको आलोचना हुँदै आएको छ। मन्त्रीले पटकपटक निर्देशन दिँदा पनि प्रहरीले कोइरीलाई पक्राउ गर्न सकेको छैन।

मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘उपप्रधानमन्त्री एवम् गृहमन्त्रीबाट पटकपटक प्रहरीलाई मौखिक निर्देशन भएकोमा हालसम्म पक्राउ नपरेको प्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ। निज प्रतिवादीलाई कानुनबमोजिम पक्राउ गरी तत्काल कारबाही अगाडि बढाउन मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको व्यहोरा अनुरोध छ।’

गृहको यो विज्ञप्तिलाई कोइरी पक्राउ गर्न नसकिएको आसयका रूपमा लिँदै गृहमन्त्रीको आलोचना भएपछि उनले सामाजिक सञ्जालमा स्पष्टीकरण दिएका हुन्।

प्रकाशित: ७ माघ २०७९ ९:०१ | Saturday, January 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast