 सांकेतिक तस्बिर।
                             सांकेतिक तस्बिर।
                                            ब्रासिलिया– ब्राजिलका पूर्वन्यायमन्त्री एन्डरसन टोरेसलाई शनिबार पक्राउ गरिएको जापानी राष्ट्रिय टेलिभिजन एनएचके वल्र्डले जनाएको छ। टोरेसलाई अमेरिकाबाट फर्केलगत्तै उनको निवासबाट पक्राउ गरिएको हो। टोरेसले आफुलाई जानकारी हुँदाहुँदै पनि जानीजानी राजधानीमा भएको आक्रमण रोक्न नचाहेको आरोप लगाइएको छ। ‘उनले दंगा सुरु हुनुअघि नै देश छोड्नुभएको थियो,’ एनएचकेले आफ्नो रिपोर्टमा भनेको छ।
पूर्वराष्ट्रपति जायर बोल्सोनारोका निकट सहयोगी टोरेसलाई गत वर्षको अक्टोबरमा भएको निर्वाचनमा वर्तमान राष्ट्रपति लुइज इनासियो लुला डा. सिल्भाले पराजित गरेका थिए।
एनएचके वल्र्डको रिपोर्टमा स्थानीय प्रहरी स्रोतलाई उद्धृत गर्दै टोरेसको घरमा अक्टोबरमा भएको राष्ट्रपतीय निर्वाचनको परिणाम उल्ट्याउने आदेशको मस्यौदा फेला परेको उल्लेख छ।
अभियोजकहरूले टोरेसलाई दंगामा बोल्सोनारोको संलग्नताको सम्बन्धमा सोधपुछ गर्ने अपेक्षा गरिएको एनएचके वल्र्डले जनाएको छ। ‘म सँधै कानुनी आधार र नैतिकताका साथ काम गरेको थिएँ। सत्यको जीत हुने मलाई पूर्ण विश्वास छ,’ यसैबीच टोरेसले आइतबार एक ट्वीटमार्फत भनेका छन्।
यसअघि ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीश एलेक्जेन्ड्रे डी मोरेसले बोल्सोनारोले जनवरी ८ मा देशको राजधानीमा भएको हिंसा भड्काउन उक्साएको हो वा होइन भन्ने विषयमा अनुसन्धान गर्न स्वीकृति दिएका थिए।
महान्यायाधिवक्ताको कार्यालयको अनुरोधमा अनुसन्धानका लागि अनुमति दिइएको हो। अनुसन्धानका लागि बोल्सोनारोले राजधानीमा भएको हिंसाको दुई दिनपछि फेसबुकमा अपलोड गरेको भिडियोलाई आधार बनाइएको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 