 फाइल तस्बिर।
                             फाइल तस्बिर।
                                            धनगढी– सुदूरपश्चिम प्रदेशका ५ सीमा नाकामा कोभिड परीक्षणलाई तीव्रता दिइएको छ। भारतसँग सीमा नाका जोडिएका कैलाली, कञ्चनपुरसहित पहाडी जिल्ला बैतडी र दार्चुलामा गरी पाँच नाकामा कोभिड परीक्षण हुँदै आएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
भारत, चीनलगायत छिमेकीमुलुकमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण फैलिइरहेकोप्रति सतर्कता अपनाउँदै यहाँ भारतबाट स्वदेश फर्किने नेपाली नागरिकको नियमित नाकामा परीक्षण हुने गरेको स्वास्थ्य निर्देशनालयका महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए।
‘छिमेकी मुलुकमा नयाँ खालको भेरियन्ट फैलिएसँगै हामीले पनि संक्रमण जाँचलाई सीमानाकामा तीव्र गतिमा हेरिरहेका छौं,’ जोशीले भने, ‘नयाँ भेरियन्ट फैलिन सक्नेप्रति सबै सचेत हुनुपर्छ।’
उनले कैलालीको त्रिनगर भन्सार र खक्रौला नाकाका साथै कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाको पुलघाट नाकामा कोभिड परीक्षण हुने गरेको बताए।
‘सबै नाकामा दक्ष स्वास्थ्यकर्मीको टोली परीक्षणमा कोभिडको पहिलो कहरबाटै खटिएको छ’, उनले भने, ‘नयाँ संक्रमण आउनसक्ने विषयमा प्रदेश सरकार पनि सर्तकता र महामारी न्यूनीकरणका लागि काम अघि बढाइरहेको छ।’
यस्तै कोभिड खोप अभाव रहेका बेला सुदूरपश्चिम प्रदेशमा पनि खोप अभाव रहेको छ। ‘बुष्टर डोज ६/६ महिनामा लगाउनुपर्छ’, जोशीले भने, ‘पछिल्लो समय नयाँ खरिद प्रक्रियामा खोप रहेकाले सबैतिर अभाव रहे पनि चाँडै आउनेछ।’
यस्तै कैलालीको धनगढी र कञ्चनपुरको महेन्द्रनगरमा महामारीका बेला आश्रय दिन होल्डिङ सेन्टरसमेत तयारी अवस्थामा राखिएका छन्। ‘खोप आउनासाथ पुनः खोप अभियान सञ्चालन हुन्छ’, उनले भन्नुभयो, ‘त्यसका साथै नागरिक पनि महामारीबाट बच्न स्वयम् पनि सचेत हुनुपर्छ।’
कोभिड संक्रमणबाट सुदूरपश्चिममा हालसम्म ६ सय ३५ जनाको मृत्यु भइसकेको निर्देशनालयले जनाएको छ। यहाँ ६ लाख १९ हजार ३ सय ७३ जनाको कोभिड परीक्षण गरिएको थियो। पछिल्लो समय यहाँ कोभिड संक्रमण देखिएको छैन।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 