सरकारलाई पिँजडामा राख्ने प्रयत्न नगर्न ओलीलाई शर्माको आग्रह

हिमाल प्रेस ५ माघ २०७९ १३:५० | Thursday, January 19, 2023
सरकारलाई पिँजडामा राख्ने प्रयत्न नगर्न ओलीलाई शर्माको आग्रह

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पिँजडामा राख्न खोजेको टिप्पणी गरेका छन्।

प्रतिनिधिसभा बैठकमा पार्टीका तर्फबाट सभामुखको उम्मेदवार बनेकी ईश्वरीदेवी न्यौपानेको पक्षमा मतदान गर्न प्रस्ताव गर्ने क्रममा शर्माले ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक बनेर प्रधानमन्त्री दाहाललाई पिँजडामा राख्न खोजेको बताएका हुन्।

शर्माले ढोक्सा र माछाको कथा हालेर सरकारलाई पिँजडाभित्र कैद गर्ने प्रयास नगर्न ओलीलाई आग्रह गरे। ओलीले प्रधानमन्त्रीलाई विश्वासको मत कांग्रेसले दिएपछि माछा मार्नका लागि ढोक्सा थाप्ने जाल नरच्न आग्रह गरेका थिए। त्यसको जवाफ दिनुपर्ने भन्दै महामन्त्री शर्माले आफ्नो पार्टीको माछालाई जालमा पार्ने कुनै योजना नभएको स्पष्ट पारे। शर्माले ओलीलाई प्रश्न गरे, ‘आफैँले संविधानले नचिनेको भनिएको उच्चस्तरीय राजनीतिक संयन्त्रको नेतृत्व किन लिनुभयो?’

उनले भने, ‘मैले मेरै जिल्लाबासी श्रद्धेय कमरेडले विश्वासको प्रस्तावको बेलामा बोल्दै गर्दा प्रमुख प्रतिपक्षले विश्वासको मत दिएर ढोक्सा थापेको त होइन भनेर भन्नुभएको कुरामा मैले केही बोलिन भने सायद त्यो अपर्याप्त होला। हामीले ढोक्सा थापेका छैनौँ। माछालाई जालमा पार्ने हाम्रो कुनै योजना छैन। तर माछा र ढोक्साको कथा हालेर कसिलो पिँजडा नबनाउनका लागि मैले रोस्टममा उभिएर मैले गर्नैपर्ने हुन्छ।’

शर्माले आफू प्रधानमन्त्री भएका बेलामा सँगैको मित्रले उच्चस्तरीय संयन्त्र बनाउन भन्दै गर्दा संविधानले नचिनेको उच्चस्तरीय संयन्त्र नबनाऊँ भनेको स्मरण गरे। उनले भने, ‘अनि सँगैको अर्को मित्र प्रधानमन्त्री भएको बेला संविधानले नचिनेको उच्चस्तरीय संयन्त्र बनाउनु भनेको हामीले ढोक्सा थाप्न खोजेको भन्दा देशको प्रधानमन्त्रीलाई पिँजडामा राख्न खोजेको प्रयत्न हो भनेर म संज्ञा दिन चाहन्छु।’

महामन्त्री शर्माले सत्तापक्षको सरकार र प्रतिपक्षको संसद भन्ने मान्यतालाई अघि बढाउन पनि सभामुख पद आफ्नो पार्टीले पाउनुपर्ने दाबी गरे। आफ्नो दल प्रमुख प्रतिपक्ष भएको र उसले सबै भन्दा ठूलो दलको नाताले पनि सभामुख पद पाउनुपर्ने उनको भनाइ थियो।

महामन्त्री शर्माले केपी ओली कालको स्मरण गराउँदै आफूहरुलाई प्रधानमन्त्रीलाई सहयोग नगर्ने सभामुख र अनाआवश्यक सहयोग गर्ने राष्ट्रपति नचाहिएको समेत बताए।

उनले भने, ‘व्यक्तिगत रुपमा उहाँ शालीन, सुयोग्य हुनुहुन्छ। अनुभवी पनि हुनुहुन्छ। यो देशको संविधान निर्माण गर्दैगर्दा संविधान सदस्यका रुपमा उहाँले महत्त्वपूर्ण योगदान गर्नुभएको छ। सचेतकका रुपमा पनि उहाँले अनुभव हासिल गरिसक्नुभएको छ।’

प्रकाशित: ५ माघ २०७९ १३:५० | Thursday, January 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast