सभामुखमा दुई गठबन्धनको भिडन्त

हिमाल प्रेस ४ माघ २०७९ १६:३० | Wednesday, January 18, 2023
सभामुखमा दुई गठबन्धनको भिडन्त

काठमाडौँ– प्रतिनिधिसभाको सभामुखमा दुई गठबन्धनका उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ। सत्तारुढ गठबन्धनबाट नेकपा एमालेका देवराज घिमिरेले उम्मेदवारी दिएका छन् भने विपक्षी कांग्रेसबाट ईश्वरी न्यौपानेले उम्मेदवारी दिएकी छन्।

घिमिरेलाई एमालेसहित, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन छ। घिमिरेको प्रस्तावकमा एमाले सांसद सुवासचन्द्र नेम्बाङ छन् भने समर्थकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र उपप्रधान तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देन छन्।

घिमिरे गत मंसिर ४ को निर्वाचनमा झापा २ बाट निर्वाचित हुन्। उनी एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन्।

यस्तै न्यौपानेलाई कांग्रेससहित, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका सांसदको समर्थन छ। न्यौपानेको प्रस्तावकमा कांग्रेस सांसद विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वाला र कांग्रेसका रमेश लेखक छन्।

कैलालीकी ईश्वरी न्यौपाने समानुपातिक सांसद हुन्। यसअघि कांग्रेस सचेतक रहेकी न्यौपाने पार्टी सभापति शेरबहादुर देउवा निकट मानिन्छन्।

सभामुखको निर्वाचन बिहीबार बिहान ११ बजे हुने कार्यतालिका छ। प्रतिनिधिसभाको बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गर्नेछन्। लगत्तै उम्मेदवारीको सूचनामाथिको सामूहिक रूपमा छलफल हुनेछ। त्यसपछि दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गरिनेछ।

प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गरिने संवैधानिक व्यवस्था छ। सभामुख र उपसभामुखमध्ये एक महिला र फरक दलको हुनुपर्ने प्रावधान छ। सभामुख चयन नहुन्जेलसम्म संसद्को ज्येष्ठ सदस्यले अध्यक्षता ग्रहण गर्ने संवैधानिक व्यवस्था छ। सोही व्यवस्थाअनुसार राप्रपाका पशुपतिशमशेर राणाले अध्यक्षता गरिरहेका छन्।

प्रकाशित: ४ माघ २०७९ १६:३० | Wednesday, January 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast