 
                             
                                            काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कल सेन्टरलाई थप व्यवस्थित गर्दै ‘समाधानः २४ घण्टे श्रम सहायता केन्द्र’को सुरुवात गरेको छ।
मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रमिकको गुनासोलाई सुन्न र समाधान गर्नका लागि २४ घण्टे श्रम सहायता केन्द्र बनाइएको जानकारी दिए ।
उनले श्रम सहायता केन्द्रमा आएका सबै गुनासोहरुलाई सरकारले समाधान गर्ने गरी काम सुरु गरिएको बताए।
मन्त्री अर्यालले ६ महिनाभित्र श्रमाधान मोबाइल एप सञ्चालन गर्ने र श्रमसम्बन्धी सम्पूर्ण कार्यहरुको टाइम कार्ड लागु गरिने जानकारी दिए। त्यस्तै, उनले अशक्तहरुलाई सिंहदरबार प्रवेश गर्दा ट्याक्सी लैजान सक्ने व्यवस्था गरिएको बताए।
त्रिभुवन विमानस्थलको अध्यागमनमा विदेश जाने सबै नेपालीको लागि एउटै लाइनको पनि व्यवस्था भएको उनको भनाइ छ। यसले गर्दा वैदेशिक रोजगारमा जानेहरुले काठमाडौं विमानस्थलमै अपहेलित महसुस गर्न नपर्ने मन्त्री अर्यालले बताए।
पत्रकार सम्मेलनमा मन्त्री अर्यालले वैदेशिक रोजगारीका क्रममा विदेशका जेलमा परेका नेपालीहरुको आवश्यक तथ्यांक संकलन हुन थालेको भन्दै उद्धारका लागि आवश्यक पहल गर्न निर्देशनसमेत दिइसकेको बताए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 