विमान दुर्घटनास्थलमा श्रद्धाञ्जलीसभा

हिमाल प्रेस १३ माघ २०७९ १३:१५ | Friday, January 27, 2023
विमान दुर्घटनास्थलमा श्रद्धाञ्जलीसभा

पोखरा- गत माघ १ मा पोखराको सेती खोँचमा यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकाहरुको स्मृतिमा आज घटनास्थलमा पोखरा महानगरपालिकाले श्रद्धाञ्जलीसभासहित दीप प्रज्वलन गरेको छ।

पोखरा महानगरपालिकाले घटनाको १३औँ दिन पारेर विमान दुर्घटनास्थल पोखरा–७ स्थित मितेरीपुल नजिक ठीक १०ः५८ बजे श्रद्धाञ्जलीसभा गरेको हो। सो अवसरमा घटनामा निधन भएका सबै यात्रुहरुको स्मृतिमा दीप प्रज्वलन समेत गरियो।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विमान दुर्घटनामा परेकाहरुको शोकले पोखरा, कास्की जिल्लासहित समग्र गण्डकी प्रदेश स्तव्ध भएको बताए।
दुर्घटनाका आला घाउहरु पूर्दै बाँचेकाहरुले नयाँ परिस्थितिको सामना गरेर अगाडि बढ्ने अठोट गर्नुपर्ने मुख्यमन्त्री अधिकारीको भनाइ छ।

उनले दुर्घटनापछि जोखिम मोलेर उद्धार कार्यमा महत्वपूर्ण योगदान गर्ने नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्काउट, रेडक्रस, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी राजनीतिक दललगायतप्रति गण्डकी प्रदेश सरकारकातर्फबाट हार्दिक कृतज्ञता व्यक्त गरे।

पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले दुर्घटनाले पोखरालाई अपूरणीय क्षति पुगेको बताए। माघे संक्रान्तिको विहान काठमाडौँबाट पोखरा आउँदै गरेको यती एयरलाइन्सको एटीआर विमान विहान १०ः५८ बजे पोखरा वडा नं ७ र १५ को सिमास्थित सेती नदीको खोँचमा दुर्घटना भएको थियो।

घटनामा विमानमा सवार ७२ जनामध्ये ७१ जनाको निधन भइसकेको छ भने एकजनाको खोजी कार्य जारी छ।
दुर्घटनामा परेकामध्ये अझै केहीको सनाखतका लागि काठमाडौँस्थित त्रिभुवन शिक्षण अस्पतालमा डीएनए परीक्षण गरिएको छ।

प्रकाशित: १३ माघ २०७९ १३:१५ | Friday, January 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast