विपद्पीडितलाई ५० हजार रुपैयाँ राहत दिने विहादीको निर्णय

हिमाल प्रेस २७ पुष २०७९ ९:०९ | Wednesday, January 11, 2023
विपद्पीडितलाई ५० हजार रुपैयाँ राहत दिने विहादीको निर्णय

पर्वत- दक्षिण पर्वतको विहादी गाउँपालिकाले विपद्‌मा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने भएको छ। गाउँपालिकाले विपद्मा परी मृत्यु भएका व्यक्तिको परिवारलाई जनही नगद दिने निर्णय गरेको हो।

गाउँ कार्यपालिकाको बैठकले विपद् राहत तथा आर्थिक सहायता व्यवस्थापन कार्यविधि, २०७५ लाई संशोधन गर्दै गाउँपालिकाभित्र बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपमा परी मृत्यु भएका व्यक्तिको परिवारलाई राहतस्वरुप ५० हजार रुपैयाँ दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष प्रवीण गुरुङले जानकारी दिए।

गुरुङका अनुसार बैठकले बसोबास गर्दै आएको घरमा आगलागीबाट पूर्णरूपमा नष्ट भएमा आवश्यक व्यवस्था गर्नका लागि २० हजार रुपैयाँ दिने निर्णय गरेको छ।

बैठकले बाढीपहिरो तथा अन्य विपत्तिबाट पूर्णरूपमा नष्ट भएमा आवश्यक व्यवस्थाका लागि २० हजार रुपैयाँ तथा आंशिक घर क्षति भएमा मर्मतका लागि १० हजार रुपैयाँ, गोठ आगलागीबाट पूर्णरूपमा नष्ट भएमा आठ हजार रुपैयाँ र अन्य कारणबाट गोठ पूर्ण नष्ट भएमा आठ हजार रुपैयाँ प्रतिपरिवारलाई राहतस्वरुप उपलब्ध गराउने निर्णय गरेको जनाएको छ।

विपद्मा परी घाइते भएकालाई सरकारी अस्पतालबाट उपचार गरी घर जान आर्थिक सहयोगस्वरुप प्रक्तिव्यक्ति पाँच हजार रुपैयाँ यातायात खर्च दिइने भएको छ। रोग लागि अतिविपन्न कारण उपचार गर्न जान नसक्ने परिवारलाई पाँच हजार रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णयसमेत गरेको उपाध्यक्ष मीना तिवारीले जानकारी दिए।

विपद्का कारण पशु चौपाया मरेमा प्रतिमाउ भैँसी सात हजार रुपैयाँ, गाई–गोरु पाँच हजार रुपैयाँ, माउबाख्रा र बंगुर पाँच हजार रुपैयाँ, पाठापाठी, पाडापाडी र बाच्छाबाच्छीलाई तीन हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। साथै बिहादी गाउँपालिकाले ११औँ हिउँदे अधिवेशन आगामी माघ १० गते मंगलबार गर्ने निर्णय गरेको जनाएको छ।

प्रकाशित: २७ पुष २०७९ ९:०९ | Wednesday, January 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast