राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र चिनियाँ राजदूतबीच भेट

हिमाल प्रेस ४ माघ २०७९ १५:२७ | Wednesday, January 18, 2023
राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र चिनियाँ राजदूतबीच भेट

काठमाडौँ- राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि चीनका नवनियुक्त राजदूत छन् सोङले शिष्टाचार भेट गरेका छन्। बुधबार सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा उनीहरूबीच भेट भएको हो।

भेटका अवसरमा अध्यक्ष तिमिल्सिनाले नेपाल र चीनबीच कूटनीतिकसम्बन्ध स्थापना कालदेखि घनिष्ठ रहेको उल्लेख गर्दै पछिल्लो समय थप प्रगाढ, सुमधुर र रचनात्मक बन्दै गएकोमा खुसी लागेको बताए। ‘नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिबद्ध छ। हामी हाम्रो भू–भागमा चीनका गहन चासोका विषय तथा मामिलाका विरुद्धमा कुनै पनि गतिविधि हुन नदिन कटिबद्ध छौँ,’ उनले भने।

अध्यक्ष तिमिल्सिनाले मित्रराष्ट्र चीनले हासिल गरेको निरन्तरको प्रगतिप्रति नेपालले प्रशंसा व्यक्त गर्दै आएको उल्लेख गरे। उनले चीन र नेपालबीच भएका उच्चस्तरीय भ्रमण र अन्य अवसरमा भएका ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई), पारवहनलगायत सम्झौता कार्यान्वयन हुने विश्वास व्यक्त गरे।

‘हाल केरुङ/रसुवागढी सीमा नाकामा दोहोरो व्यापार सुचारु हुनुले दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाएको छ। हिल्सा/पुराङ नाकामा पनि एकातर्फी सुचारू भएको छ,’ उनले भने, ‘यसले दुई देशबीचको व्यापार प्रवर्द्धन गर्न एवम् सीमा क्षेत्रका बासिन्दाको जीवनयापनमा सहजता ल्याउने विश्वास छ। अबका दिनमा हामीले तातोपानी/जाङमु द्विपक्षीय व्यापारको रूपमा र अन्य नाकाबाट आयातको व्यवस्था गर्न आवश्यक छ।’

भेटमा राजदूत सोङले नेपाल र चीनबीचको सम्बन्ध सांस्कृतिक रूपमा लामो समयदेखि सुमधुर तथा कूटनीतिक रूपमा पनि सबै राजनीतिक परिस्थितिमा समान रहेकोमा खुसी व्यक्त गरे। उनले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन उच्चस्तरीय राजनीतिक भ्रमण, रणनीतिक सञ्जाल निर्माण गर्ने र विभिन्न समयमा भएका बेल्ट एण्ड रोड इनिसियटिभलगायतका सम्झौताको कार्यन्वयनमा जोड दिनुपर्ने बताए। उनले दुई देशको सरकार र संसद्बीच सहकार्यका लागि आफ्नो तर्फबाट भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: ४ माघ २०७९ १५:२७ | Wednesday, January 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast