 
                            
                                            काठमाडौँ– माघे संक्रान्ति पर्व नजिकिएसँगै बजारमा तरुलको माग र व्यापार बढेको छ। कालिमाटीस्थित कालीमाटी फलफूल तथा तरकारी बजारमा सर्लाही, चितवन, नवलपरासी, धादिङ, मकवानपुर, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट, पाल्पालगायत जिल्लाहरूबाट आएको पिँडालु, घरतरुल, वनतरुल, सिमलतरुल, पानीतरुल, हात्तीपाइले, सखरखण्डलगायतका तरुल पाइन्छ। जाडो याममा तरुलको माग बढी हुने भए पनि माघे संक्रान्ति पर्वको बेला यसको व्यापार उच्च हुने गर्छ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार कालिमाटीमा अहिले १८ थरीको तरुल पाइन्छ भने हालसम्म माघे संक्रान्तिलाई लक्षित गरी १ सय २० टन पिँडालु, ३ सय टन सखरखण्ड, ८ सय टनभन्दा बढी तरुल भित्रिएको छ। हाल कालिमाटी फलफूल तथा तरकारी बजारमा तरुल ६० देखि ७० रुपैया प्रतिकेजी र सखरखण्ड ५० देखि ६० रुपैयाँ प्रतिकेजीमा बिक्रि भइरहेको छ।
माघेसंक्रान्तिमा विभिन्न प्रकारका तरुल, चाकु र सख्खर खाने परम्परा छ।
 
  
  
  
  
  
  
  
  
  
  
  
 


 
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 