फाइल तस्बिर।
                                            काठमाडौँ– नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष श्रेष्ठले आफ्नो पार्टीको माग सम्बोधन नभएसम्म संघ र प्रदेश कुनै पनि सरकारमा सहभागी नहुने बताएकी छन्।
शनिबार बुटवलमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरूको जवाफ दिने क्रममा उनले यस्तो बताएकी हुन्।
रेशम चौधरीसहित टीकापुर घटनाका बन्दीहरूलाई रिहा नगरेसम्म संघ र प्रदेशको कुनै पनि सरकारमा आफ्नो पार्टी सहभागी नहुने अडान कायमै रहेको उनको भनाइ छ।
सरकारले आफूहरूको माग सम्बोधन गर्ने भनेकाले त्यो पूरा भएपछि मात्रै सरकारमा जान आफूहरू प्रतिबद्ध रहेको बताउँदै पार्टीको माग र मुद्दा सम्बोधन नभएसम्म सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिने पक्षमा आफ्नो पार्टी नरहेको पनि उनले स्पष्ट पारिन्।
‘जबसम्म नागरिक उन्मुक्ति पार्टीको माग, मुद्दा सरकारले सम्बोधन गर्दैन। तबसम्म हामी प्रतिपक्ष बेञ्चमै बस्नेछौं। सुदूरपश्चिम प्रदेशमा हामीले मुख्यमन्त्रीलाई चाँही समर्थन गरेका छौं। र, विश्वासको मत दिनुअघि सरकारले हाम्रो माग, मुद्दा सम्बोधन गरोस भन्ने हाम्रो पार्टीको चाहना पनि रहेको छ,’ उनले भनिन्।

                                             
                                             
                                             
                                             
                                             
                                             

