बाल्यकाल फर्काउने देउरालीको ‘पानीरोटी’

राजाराम बर्तौला ७ माघ २०७९ ९:२७ | Saturday, January 21, 2023
बाल्यकाल फर्काउने देउरालीको ‘पानीरोटी’

पुसको अन्तिमतिर बाक्लो हुस्सुभित्र धुम्मिन्छ, काठमाडौँ। रातभर परेका ससाना शीतका थोपाले बिहानीलाई कठ्याङ्ग्रिँदो बनाउँछन्। मुटु काम्ने चिसो सिरेटोले ज्यानलाई कक्रक्क पार्छ।

कतिपयले ‘माघको जाडो पो जाडो’ भन्छन्। तर माघको ठिहिर्‍याउने जाडोभन्दा पुसको अररो बनाउने चिसोले तर्साउँछ मलाई। दुई मुट्ठीलाई काखीमुनि च्यापरे, मुखबाट बाफ निकाल्दै, चिसो बतासले तपतप आँसु चुहिँदा पुसको कहर थाहा हुन्छ।

ऋतुअनुसार भन्नुपर्दा पुस हेमन्त ऋतुमा पर्छ। शिशिर त होइन तर शीत झर्छ। हिउँ बनेर हिमालमा जम्छ। हिमाल टल्कन्छ। हिमालबाट आउने चिसो बतासले मुटु कमाउँछ। त्यस्तो जाडोमा घरबाहिर निस्किनु दुरुह काम नै हो।

पछिल्लो समय पदयात्राप्रेमी बनेको मलाई पुसको कठ्याङ्ग्रिने चिसोले पनि घरमा रोक्न सकेन। गत शनिबार पदयात्रा गर्ने निधो गरियो।

काठमाडाैँबाट दक्षिणकाली हुँदै हेटौँडा जाने क्रममा गाडीको झ्यालबाट तल बगिरहेकी बागमतीलाई देख्थेँ। त्यसैको पिँधबाट उठेका आकाशीय ती पर्वतमाला हेर्थेँ। क्लान्त भीरपखेरामा पनि मानव बस्ती देख्दा लाग्थ्यो, जीवन कति कठिन छ। कति निर्दयी छ। कसैलाई खातमाथि खात, कसैलाई भने लात। जीवनको त्रासदीपूर्ण जिजीविषा।

कुनै दिन त्यस ठाउँमा पुग्ने धोको थियो। त्यो ठाउँलाई नजिकबाट नियाल्ने रहर थियो। तर परिस्थिति मिलिरहेको थिएन। गत शनिबार त्यो अवसर जुर्‍यो।

झिसमिसे उठेर नित्यकर्मपछि दुईपांग्रेमा हुइँकिएर ललितपुर, सातदोबाटो पुग्दा चिसोले झण्डै जमिनँ। यो उमेरमा पनि पुसको एकाबिहान घरबाहिर निस्कनु मेरो दुस्साहस थियो। जसबाट घरका सदस्य र शुभेच्छुक खुसी थिएनन्। तैपनि म मानिनँ।

यति दुस्साहस गरी देउराली डाँडामा पुगेँ। त्यहाँबाट ३६० डिग्री नजर घुमाउँदा प्राप्त भएको सन्तुष्टिको बयान गर्न सक्दिनँ। त्यो अपरिमेय आनन्दको वर्णन गर्न शब्द छैनन्।
ललितपुरको टीकाभैरवबाट हेटौँडा तर्फ जाने बाटोभन्दा फरक बाटो समातेर पश्चिमतर्फको उकालो लागेपछि बुरुन्चुली पुगिन्छ। चुली भने पनि यो चुली होइन। बिहानको पारिलो घाम लाग्छ यहाँ। ग्रामीण बस्ती रमणीय र दर्शनीय देखिन्छ।

यस ठाउँलाई हामीले पदयात्राको प्रस्थानबिन्दु बनायौँ। उकालो लाग्यौँ। पदयात्रामा गाउँले परिवेशको सुगन्ध महसुस गर्‍यौँ। रमाइलो लाग्यो। तर आँखामा बिझाउने दृश्य पनि देखिए त्यहाँ।

सडकछेउ र खाली ठाउँमा रोकेर राखिएका थिए, टाटाका ड्रमट्रक। एउटा सानो नल्लुखोला छ। पिँधबाट बालुवा निकाल्न मिल्ने नदी कुनै देखिन्नन्। तर पहाड कोतरिएका कुरूप दृश्य देखिन्छन्। ढुंगा, गिट्टी, रोडा निकाल्ने क्रसर उद्योग सञ्चालन रहेछन्।

सहरको जग्गा प्लटिङको रोग यहाँ पनि सरेछ। घामै नलाग्ने खोच, सवारीसाधन पुग्न गाह्रो हुने भिरालो जमिन पनि बाँकी रहेन। सग्लो जमिनलाई टुक्र्याएर घडेरीका रूपमा प्लटिङ गरिएको देखियो।

बाटै बाटो उक्लिँदै जाँदा माथिल्लो बरुन्चुली पुगिन्छ। यहाँबाट एउटा बाटो देउरालीतिर लाग्छ भने अर्को बाटो देवीचौरतिर। देवीचौर गएर पनि देउराली उक्लन सकिन्छ। हिँडेर गएनि हुने अथवा सवारीसाधनमा गए पनि पुग्न सकिन्छ। तर हिँडेर जानुजत्तिको मजा सवारीसाधनमा जाँदा पाउन सकिँदैन।

१० बजे भञ्ज्याङमुनि पुग्दा बाटोभरि चाँदीजस्तै तुसारो थियो। माथिल्लो बरुन्चुलीबाट उकालै लागेपछि भञ्ज्याङ पुगिन्छ। त्यहाँबाट पनि उकालो लागे देउरालीकोे थली आउँछ। यहाँ विशाल भ्यु टावर बनाइएको छ। जो मन्दिर शैलीको छ। त्यसका बीचमा देवीदेउताको मूर्ति स्थापना गर्ने हो भने विशाल मन्दिर जस्तै देखिनेछ। चारैतर्फ पर्खाल लगाएर बगैँचाको समेत परिकल्पना गरी बनाइएको त्यस भ्यु टावरको निर्माणमा करौडौँ खर्च भएको हुन सक्ने अनुमान सजिलै गर्न सकिन्छ।

भ्यु टावर हेर्नकै लागि दैनिक कति पर्यटक आउलान् र तिनले यो सुविधा प्रयोग गर्दा कति आम्दानी होला भन्ने अध्ययन गरेर सो संरचना निर्माण गरिएको जस्तो लागेन। अनुमानकै भरमा र कुनै नेताको लहडमा निर्माण गरिएको जस्तो लाग्यो।

यस्ता संरचना देशको महत्त्वपूर्ण स्रोतसाधनको दुरुपयोग गर्ने बहानाबाहेक केही होइनन्। अनावश्यक बनाइएको त्यो संरचना देख्दा लाग्यो कुनै दिन नेपालीले सगरमाथाको टुप्पोमा पनि भ्यु टावर बनाउन बेर लाउँदैनन्। यहाँ रहेका प्राकृतिक दृश्य यति मनमोहक छन् कि तिनलाई हेर्न भर्‍याङ चढेर माथि उक्लिनै पर्दैन।

यहाँबाट माने भञ्ज्याङ, लेकडाँडा र घोडेचौर आँखैमा ठोक्किन्छन्। मैले दक्षिणकालीको पाखोबाट देखेको कठिन भिरालोमा बसेका बस्ती यही नै हुन्, देवीचौर, मानेभञ्ज्याङ र लेकडाँडा।

थली-थलीमा थुपुक्क बसेका यी बस्ती सुन्दर देखिन्छन्। त्यसमाथि पाटाहरूमा पहेँलै फुलेका तोरीबारीले झन् मोहनी लगाउँछ। मानेभञ्ज्याङभन्दा माथिको थलीमा लेकडाँडा र त्यसभन्दा पनि माथि घोडेचौर छ। घोडा चराउने चौर भएको हुँदा यो ठाउँको नाम घोडेचौर राखिएको रहेछ।

किंवदन्तीअनुसार हालको देवीचौरमा रहेको एउटा शिलामा गाईले सधैँ दूध चढाउने गरेको गोठालाले देखे। उक्त ठाउँमा खनी हेर्दा देवीको मूर्ति भेटियो। त्यसैले त्यस ठाउँको नाम देवीचउर रहन गयो भनिन्छ।

तर मन्दिरलाई नजिकैबाट हेर्दा देवीभन्दा शिवालयको झलक बढी पाइन्छ। जे भए पनि देवीचौरमा देवीको बास रहेको भन्ने विश्वासमा स्थानीयले यसलाई शक्तिपीठ पनि मान्दछन्।

भोकाएको टोली कहिले खाने ठाउँ आइपुग्ला र भोकले हल्लिएका आन्द्रा भरुँला भन्ने सुरमा थियो। उपत्यकाको पहाड वरिपरिका डाँडामा तामाङ बस्ती थुप्रै छन्। भञ्ज्याङ, चौतारीहरूमा तामाङ भेटिन्छन्। हाम्रो पनि खाने मेसो तामाङकै घरमा मिलाइएको थियो।

ढुंगाको गारो र जस्ताको छानो भएको घरको पिँढीमा झोला बिसाइयो। पहाडको परम्परागत घरको बार्दलीको रेलिङमा मकैका झुत्ता लहरै झुण्ड्याइएका थिए। ठाउँअनुसारको कर्म! बुङ्मतीमा खुर्सानीको लर्के र लसुनको मुठालाई घरको बाहिर झुण्ड्याएर सुकाएको जस्तो।

छेउमै भैँसीको गोठ र बारीको कान्लामा रायो, बन्दा, र मुलाको तरकारी खेती तामाङको जीविकोपार्जन मेसो। घरपछाडि गोठमा पाक्दै थियो हाम्रा लागि खाना। परिकार थियो, ‘पानीरोटी’।

यो विशिष्ट परिकार नेपालीको साझा खाना हो। सबै जातजातिको भान्सामा पाक्ने परिकार हो। गहुँको पिठोलाई मुछेर, पेलेर, सानोसानो आकारमा रोटीका टुक्रा बनाउने र मासको दालमा मिसाएर भकभक पकाउने हो। तर त्यहाँ पानीरोटी विशेष तरिकाले बनाइएको थियो। त्यसमा दाल थिएन। जसरी पश्चिमाहरूले सुप तयार गर्छन्, त्यसैगरी तयार गरिएको थियो।

पानीरोटी विभिन्न किसिमका सागसब्जी मिसाएर बनाइएको थियो। त्यसमा गाजर, रायोको साग, सिमी, कुरिलो, चना, आलु र बन्दाका पात मिसाइका थिए। जाडोमा तातो हुने र शरीरलाई तरल पदार्थ पनि पुग्ने खालको पूर्ण आहारबाट हामी सन्तुष्ट भयो। सानोमा खाएको स्वाद एकपटक फेरि चाख्न पाउँदा मनै आनन्दित भयो। त्यसले एकपटक बाल्यकालमा फर्कायो।

देउराली डाँडामा धेरैबेरसम्म बस्यौँ। आँखा र आँतको धीत मरुञ्जेल प्राकृतिक दृश्यको रसपान गर्‍यो। मनभरि मानेभञ्ज्याङ, लेकडाँडा, घोडेचौर र देवीचौर भरेर फर्कियौँ। यी र यस्ता रम्य शिखर हेरेर कहिल्यै थाक्दैनन् आँखा। अघाउँदैन मन। यिनैको रसमाधुर्यमा रमेको छ जीवन।

प्रकाशित: ७ माघ २०७९ ९:२७ | Saturday, January 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast