काठमाडौँ- मंगलबार दिउँसो बाजुरा केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण एक जनाको मृत्यु भएको छ। दिउँसो २:४३ बजे ५.९ रेक्टर स्केलको भूकम्प गएको थियो।
भूकम्पका कारण खसेको ढुंगाले लागेर घाँस काट्न गएकी गौमुल गाउँपालिका-२ की जमुना रोकायाको मृत्यु भएको हो। घटनास्थलमा प्रहरी पुगिनसकेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।
त्यस्तै बाजुराका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काका अनुसार भूकम्पले ४० घरमा पूर्ण क्षति पुर्याएको छ। भूकम्पकै कारण भेडी गोठालो राजदल बोहोरा घाइते भएका छन्। त्यस्तै उनै बोहोराका ३० वटाभन्दा धेरै भेडा च्याङ्ग्रा पनि भूकम्पपछिको पहिरोमा पुरिएको विवरण आएको खड्काले जानकारी दिए।
भूकम्पपछिको क्षतिको विवरणहरू पूर्ण संकलन भइनसकेको प्रशासनको भनाइ छ।
प्रकाशित: १० माघ २०७९ १८:५६ | Tuesday, January 24, 2023
प्रतिक्रिया




