नेपालगञ्‍ज औद्योगिक महोत्सव : थारू संस्कृतिमा रमाउँदै दर्शक

हिमाल प्रेस १३ माघ २०७९ १५:५२ | Friday, January 27, 2023
नेपालगञ्‍ज औद्योगिक महोत्सव : थारू संस्कृतिमा रमाउँदै दर्शक थारू परम्परागत पहिरनमा सजिएका युवती। फाइल तस्बिर-हिमाल प्रेस

नेपालगञ्‍ज– नेपालगञ्जमा जारी औद्योगिक व्यापार महोत्सवमा थारू संस्कृतिमा दर्शक रमाउने गरेका छन्। प्रादेशिक औद्यौगिक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सवमा थारू संस्कृति हेर्न र थारू परिकारको स्वाद लिन दर्शकको भीड लाग्ने गरेको छ।

महोत्सवका १७ वटा कक्षमा थारूगाउँ सञ्चालन गरिएको सञ्चालक हेमन्त चौधरीले बताए। थारू गाउँमा थारू संस्कृति र खानाका परिकारको स्वाद लिन दर्शकको भीड हुने गरेको उनको भनाइ छ। महोत्सवभित्र राखिएको थारू गाउँका कक्षमा थारू परिकार सजिएका छन्। महोत्सव हेर्न आएका दर्शकको थारू परिकारको स्वाद लिन लाइन लाग्ने गरेको छ।

थारू गाउँमा थारू परिकार घोघी, बंगुरका परिकार, स्थानीय जातको कुखुराको मासु, माछाका परिकार, झिंगे माछा, गंगटाका परिकार, डोकनीमा पिसेको अचारलगायत अनदिको झोल पाइने गरेको चौधरीले जानकारी दिए।

महोत्सव हेर्न आउने अधिकांश दर्शक थारू गाउँ जाने गरेकाले थारू गाउँका हरेक कक्षमा ग्राहक भरिभराउ हुने गरेको नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका अध्यक्ष मधु खड्काको भनाइ छ।

महोत्सवमा थारूको कला संस्कृतिको प्रवद्र्धनका लागि थारू गाउँ सञ्चालन गरिएको उनको भनाइ छ। पश्चिम नेपालमा औद्योगिक तथा पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि नेपालगञ्जमा महोत्सव आयोजना गरिएको हो।

गत मंगलबारदेखि नेपालगञ्जको सडक डिभिजन परिसरमा १५ दिनसम्म सञ्चालन हुने प्रदेशस्तरीय महोत्सवमा करिब दुई लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको महासंघका महासचिव जीआर भुसालले बताए।

महोत्सवमा स्थानीयस्तरमा उत्पादित वस्तु तथा सेवालाई प्राथमिकता दिनेगरी कृषि, पर्यटन, उद्योग, व्यापारलगायत क्षेत्रका तीन सय स्टल राखिएका छन्।

प्रकाशित: १३ माघ २०७९ १५:५२ | Friday, January 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast