निर्मला कुर्मी र नकुन्‍नी धोबीको घटनामाथि छानबिन गर्ने गृहमन्त्रीको प्रतिबद्धता

हिमाल प्रेस ३० पुष २०७९ १८:५५ | Saturday, January 14, 2023
निर्मला कुर्मी र नकुन्‍नी धोबीको घटनामाथि छानबिन गर्ने गृहमन्त्रीको प्रतिबद्धता

काठमाडौँ– उपप्रधान एवम् तथा गृहमन्त्री रवि लामिछानेले निर्मला कुर्मीको न्यायको माग गर्दै माइतीघरमा धर्ना दिइरहेका बाँकेका महिला अधिकारकर्मीसँग भेट गरी उनीहरूको माग सम्बोधन गर्ने बताएका छन्।

शनिबार माइतीघर मण्डलामा पुगेर गृहमन्त्री लामिछानेले बाँकेकी निर्मला कुर्मीको हत्या घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्दै आएका अधिकारकर्मीहरूसँग भेट गर्दै यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।

केही दिनदेखि बाँकेका अधिकारकर्मीहरूको टोली माइतीघर मण्डलामा निर्मला कुर्मीको न्यायका लागि धर्नामा छन्। यसअघि गृहमन्त्री लामिछानेले अधिकारकर्मीलाई आन्दोलन फिर्ता लिएर अनुसन्धानमा सहयोग गर्न आग्रह गरेका थिए।

गृहमन्त्री लामिछानेसँग अधिकारकर्मीहरूले न्याय माग्दै निर्मला कुर्मीलाई न्याय नदिउन्जेसम्म आन्दोलन जारी राख्ने चेतावनीसमेत दिए। अधिकारकर्मीसँगको भेटमा गृहमन्त्री लामिछानेले निर्मला कुर्मी र नकुन्नी धोबीको घटनाको सत्यतथ्य छानबिन गर्ने प्रतिबद्धता जनाएका हुन्।

यसअघिका सरकारले पटक-पटक प्रतिबद्धता जनाए पनि उक्त घटनाको छानबिन हुन नसकेको तर आफूले न्याय दिनेकुरामा विश्वस्त रहन उनले आग्रह गरे। घटनामाथि छानबिनका क्रममा कुनै कैफियत देखिए आफूले राजीनामा दिनुपरे पनि दिने लामिछानेले बताए।

‘मलाई एक पटक राम्रोसँग काम गर्न दिनुहोला। अघिल्लो अनुसन्धानमा बिग्रिएका विषयहरूलाई सच्याउने मौका दिनुहोला, जे गर्नुपर्छ तपाईंहरूले भन्नुभएको कुरामा हामी क्रमबद्ध रूपमा जाउँला, पीडित महिलाबाट आएको विषयलाई नै आधार र प्रमाण बनाएर अनुसन्धान थाल्छु,’ उनले भने।

बाँकेकी निर्मला कुर्मी र नन्कुन्नी धोबीलाई राज्यले न्याय नदिएको अधिकारकर्मीहरूको आरोप छ। अधिकारकर्मी रुबी खान नेतृत्वको समूहले ४ बुँदे मागसहित धर्ना
दिइरहेका छन्।

निर्मला कुर्मी हत्याको घटनामा न्यायिक आयोग गठन गर्नुपर्ने, न्यायिक आयोगमार्फत कुर्मीको तमसुकमा भएको सही छाप चेक गरिनुपर्ने, मुद्दालाई अदालतसम्म पुर्‍याइनुपर्ने र महिला आन्दोलनकारीको सुरक्षाको प्रत्याभुति गराउनुपर्ने अधिकारकर्मीहरूको माग छ।

प्रकाशित: ३० पुष २०७९ १८:५५ | Saturday, January 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast