नारायणगढ-मुग्लिन सडकखण्डमा भोलि र पर्सि सवारी नरोकिने

हिमाल प्रेस २९ पुष २०७९ ११:५० | Friday, January 13, 2023
नारायणगढ-मुग्लिन सडकखण्डमा भोलि र पर्सि सवारी नरोकिने फाइल तस्बिर।

चितवन- नारायणगढ–मुग्लिन सडकखण्डमा भोलि शनिबार र आइतबार सवारी नरोकिने भएको छ। पुल निर्माणका लागि भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा चार घण्टा बन्द गरिँदै आएको सो सडकखण्डमा माघे संक्रान्ति लागि सवारी नरोकिने भएको हो।

माघे संक्रान्तिको मेला भर्न पवित्र तीर्थस्थल देवघाटमा भक्तजन टाढाटाढाबाट समेत आउने भएकाले सडक पूर्णरुपमा सञ्चालन गर्न लागिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ। गत पुस ५ गतेबाट ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम गरिँदै आएको छ।

सो आयोजना हेर्दै आएको नागढुंगा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का प्रमुख किरण कार्कीका अनुसार सवारी रोकेर काम गर्दा प्रभावकारी भएको छ। निर्माणाधीन पाँच पुलमध्ये तीन वटाको भित्तो काट्ने काम सकिएको छ।

उनका अनुसार सिमलताल, कालीखोला र नाम्ची खोलाको पुलको काम सकिएको हो। चिसेन्जी र तुइन खोलाको पुलको भित्तो काट्न बाँकी रहेको छ।

तुइनको दायाँपट्टिको भित्तो ३० प्रतिशत मात्र काटिएको छ भने चिसेन्जीको ७० प्रतिशत काटिएको छ। देब्रेपट्टि दुवै पुलको ६५ प्रतिशत हाराहारी काटिएको छ।

यी पुलसँगै काम थालिएका नौ पुल बनिसकेका छन्। यसअघि नै सो सडकका पाँच पुल बनिसकेका थिए। पाँच वटा पुल निर्माणाधीन रहेका छन्।

प्रकाशित: २९ पुष २०७९ ११:५० | Friday, January 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast