तयारी वस्तु र कच्चा पदार्थको भन्सार दर १० प्रतिशत फरक गर्न परिसंघको आग्रह

हिमाल प्रेस ११ माघ २०७९ १८:५८ | Wednesday, January 25, 2023
तयारी वस्तु र कच्चा पदार्थको भन्सार दर १० प्रतिशत फरक गर्न परिसंघको आग्रह

काठमाडौँ- नेपाल उद्योग परिसंघले आयातित तयारी वस्तु र कच्चा पदार्थको भन्सार दर कम्तिमा १० प्रतिशतले फरक गर्न आग्रह गरेको छ।

७१औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर बुधबार आयोजित अन्तरक्रियामा बोल्ने व्यवसायीहरूले यस्तो आग्रह गरेका हुन्।

परिसंघका कार्यवाहक अध्यक्ष राजेश अग्रवालले आयात हुने तयारी वस्तु र ती वस्तु बनाउन प्रयोग हुने कच्चा पदार्थको भन्सार दर कम्तिमा एक तहको फरक हुने नीति बनाउन माग गरेका हुन्। उनले भने, ‘अहिलेको नीतिलाई दुई तह वा कम्तिमा १० प्रतिशतको अन्तर हुने गरी प्रभावकारी रूपमा कार्यान्वयन गरिनुपर्छ।’

आत्मनिर्भर भइसकेका तथा आत्मनिर्भर उन्मुख वस्तुको आयात निरुत्साहित गरिनुपर्नेमा जोड दिँदै उनले ग्रीन च्यानलबाट पैठारी हुने वस्तुको संख्या बढाउँदै लैजान पनि आग्रह गरे।

अन्तरक्रियामा परिसंघका राजश्व समिति सभापति राहुल अग्रवालले भन्सार सन्दर्भ पुस्तिकामा सुधार ल्याउन आग्रह गरे। उनले भने, ‘सन्दर्भ पुस्तिकाका कारण अधिक बिजकीकरण र न्यून बिजकीकरणलाई प्रोत्साहित भइरहेकाले यसको सुधार आवश्यक छ।’

वस्तुको मूल्य र आयातकर्ताको विवरण नखुलेको सामान निर्वाध आयात भइरहेको भन्दै अग्रवालले भन्सारमा कडाई गर्न मागसमेत गरे।

परिसंघले स्वदेशी उत्पादनको प्रबद्र्धन गर्न सरकारी निकायहरूमा नेपाली उत्पादन प्रयोग गराउन पनि आग्रह गरेको छ। यस्तै चोरी पैठारी नियन्त्रण गर्न, सार्वजनिक बिदाको दिन पनि भन्सारमा पूर्ण काम गराउन, भन्सार जाँचपास पछि मालवाहक गाडी पुनः चेकजाँच गर्ने परिपाटी कम गर्न पनि परिसंघले आग्रह गरेको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै राजश्व सचिव डा. रामप्रसाद घिमिरेले कारोबारमा आधारित अर्थतन्त्रबाट उत्पादनमा आधारित अर्थतन्त्रतर्फ जानैपर्ने बताए। औद्योगीकरणको प्रबद्र्धन गर्न उत्पादन बढाउनुको विकल्प नभएको उनको भनाइ थियो।

प्रकाशित: ११ माघ २०७९ १८:५८ | Wednesday, January 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast