 
                             
                                            पोखरा– गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठक बसेको छ। बैठकले स्वास्थ्य सेवामा ध्यान दिँदै गण्डकी प्रदेशमा डायलासिस सेवा विस्तार गर्ने मन्त्रिपरिषद्को पहिलो निर्णय गरेको छ।
नवनियुक्त मुख्यमन्त्री अधिकारीको अध्यक्षतामा बसेको बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता बिनाविभागीय मन्त्री सीता सुन्दासले डायलासिस सेवा आवश्यक पर्ने बिरामीलाई प्रदेशमातहतका ११ जिल्लाका अस्पतालमा डायलासिस सेवा विस्तार गर्ने निर्णय भएको जानकारी दिइन्।
६० सदस्यीय प्रदेशसभामा ३३ सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीको दाबी पेस गरेको एमाले संसदीय दलका नेता अधिकारी सोमबार अपराह्न मुख्यमन्त्री नियुक्त भएका हुन्। उनलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको संविधानको धारा १६८(२) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन्। साथै नवनियुुक्त मुख्यमन्त्री अधिकारीले नेकपा एमालेसहित माओवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट ३ जनालाई मन्त्री नियुक्त गरेका छन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 