ठूलो परिमाणमा नक्कली मदिरासहित तीन जना पक्राउ (तस्बिरहरूसहित)

हिमाल प्रेस १५ माघ २०७९ १५:२४ | Sunday, January 29, 2023
ठूलो परिमाणमा नक्कली मदिरासहित तीन जना पक्राउ (तस्बिरहरूसहित)

काठमाडौँ- प्रहरीले ठूलो परिमाणमा नक्कली मदिरासहित तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दोलखा, कालिञ्चोकका निरज उप्रेती, स्याङ्जा गल्याङका धर्मी गौडेल र सिन्धुली तीनपाटनका गणेशबहादुर रानामगर रहेको उपत्यका प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए।

ललितपुर महानगरपालिका–१ कुपण्डोलमा निरज उप्रेतीले सञ्चालन गरेको नेक्स्ट टेस्ट लेक्वरमा खानतलासी गर्दा नक्कली खुकुरी रम फेला परेपछि अनुसन्धान गर्दा विभिन्न ब्रान्डका थप नक्कली मदिरा फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आरोपितहरूले ललितपुरको टीकाथलीका विभिन्न स्थानमा नक्कली मदिरा बनाउने गरेको भेटिएको छ।

नक्कली मदिरा, मदिरा बनाउन प्रयोग गरिने केमिकल्स, विभिन्न ब्रान्डका मदिराका खाली बोतल, अन्तः शुल्कको प्रयोग गरिएका स्टिकर, लेबलिङ एवम् प्याकेजिङ गर्ने मेसिन बरामद गरिएको कोइरालाले बताए।

उनका अनुसार काठमाडौँको मित्रनगरमा धर्मी गौडेलले सञ्चालन गरेको एसटी लिक्वर स्टोरमा खानतलासी गर्दा नक्कली खुकुरी रम र रुस्लान भोड्का बरामद गरिएको छ। पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी परिसर ललितपुरमा पठाइएको छ।

प्रहरीका अनुसार विनोद कार्की, भगवान् बस्नेत, गोपाल पुन मगर, हरि वली, मनोज खत्री, गौरव तामाङ, गोपीकृष्ण श्रेष्ठसमेतले टीकाथलीमा टहरा भाडामा लिई स्वदेशी तथा विदेशी ब्रान्डका विभिन्न गुणस्तरहीन नक्कली मदिराहरू बनाई कालो बजारी गर्ने गरेको पाइएको छ। उनीहरूले यसरी उत्पादित मदिरा प्रचलित बजार भाउनभन्दा कम मूल्यमा बिक्री गर्दै आएका थिए।

आरोपितहरूमाथि स्वेदशी थता विदेशी ब्रान्डका नक्कली मदिरा बनाई कालोबजारी गर्ने कुसरमा यसअघि पनि कारबाही गरिएको प्रहरीको विवरणमा उल्लेख छ। प्रहरीले उनीहरूको कारखाना र स्टोरबाट गोल्डेव वक ६ बतोल, ८८४८ भोड्का ४८ बोतल, मुग्लान ४२० बोतल, २०२० एपल ३० बोतल, खुकुरी रम ९२ बोतल र रुस्लान भोड्का १३२ बोतल बरामद गरिएको जनाएको छ।

 

 

प्रकाशित: १५ माघ २०७९ १५:२४ | Sunday, January 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast