टर्मिनल भवन नहुँदा ताल्चा विमानस्थलमा समस्या

हिमाल प्रेस ६ माघ २०७९ १०:५७ | Friday, January 20, 2023
टर्मिनल भवन नहुँदा ताल्चा विमानस्थलमा समस्या

मुगु- टर्मिनल भवन निर्माण नहुँदा मुगुको ताल्चा विमानस्थलमा सेवा प्रवाहमा समस्या भएको छ।

सम्झौताअनुसार आर्थिक वर्ष २०७८/७९ मै निर्माण सम्पन्न हुनुपर्ने भए पनि हालसम्म पूरा हुन नसक्दा सेवा प्रभावमा समस्या भएको छ। ओमबुद्ध इन्टरनेशनल कन्स्ट्रक्सनले समयमै काम सम्पन्न नगर्दा टर्मिनल भवन अधुरै रहेको हो । विसं २०६० देखि कच्ची धावनमार्गमा हवाई सेवा सञ्चालनमा आएको हो।

विसं २०७२ मा पाँच सय ७० मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग कालोपत्र गरिएको हो। टावर र टर्मिनल भवन भने हालसम्म बन्न सकेको छैन। ओमबुद्धले टर्मिनल भवन निर्माण गर्न २०७६ असोजमा ३० महिना भित्र सम्पन्न गर्नेगरी रु आठ करोड ६५ लाखको सम्झौता गरेको थियो।

नागरिक उड्डयन प्राधिकरणका इञ्जीनियर महेश नेपालीका अनुसार हालसम्म ६० प्रतिशत मात्र काम भएको छ। नागरिक उड्डयन कार्यालय ताल्चाका प्रमुख रामोन भट्टराईले भवन नबन्दा सेवा प्रवाहमा समस्या भएको बताए।

‘ताल्चामा अहिले पुरानो काठकै भवन र टहरामा जोखिम मोलेर सेवाप्रवाह भइरहेको छ’, उनले भने। सामान्य हावाहुरी चल्दा पनि सेवा प्रवाहमा समस्या हुने गरेको छ।

ओमबुद्ध कन्स्ट्रक्सनका सञ्चालक भोजराज खड्काले भौगोलिक विकटताका कारण समयमा सामान ढुवानी नहुनु र कोरोनाका कारण निर्माणमा ढिला भएको बताए।

प्रकाशित: ६ माघ २०७९ १०:५७ | Friday, January 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast