झाँकी र मोटरसाइकल र्‍यालीसहित टुँडिखेलमा मनाइँदै माघी महोत्सव

हिमाल प्रेस २९ पुष २०७९ २०:२४ | Friday, January 13, 2023
झाँकी र मोटरसाइकल र्‍यालीसहित टुँडिखेलमा मनाइँदै माघी महोत्सव फाइल तस्बिर।

काठमाडौँ– थारू समुदायको राष्ट्रिय पर्व माघी महोत्सव २०७९ तथा नयाँ वर्ष टुँडीखेलमा आयोजना गरिने भएको छ। थारू कल्याणकारिणीसभा केन्द्रीय समितिको संयोजनमा २४ वटा संस्थाको आयोजनामा शनिबार र आइतबार टुँडीखेलमा सो महोत्सव मनाउन लागिएको हो।

महोत्सवमा थारू सांस्कृतिक झाँकी, र्‍याली, विभिन्न परिकार, हस्तकला, परम्परागत सामान, पुस्तक प्रदर्शनी एवं बिक्री, मोटरसाइकल र्‍याली र विभिन्न क्षेत्रमा विशेष योगदान पुर्‍याएका व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रम छ।

महोत्सवमा एक सय विविध कक्ष राखिएकोमा ८० वटा मात्रै ‘बुकिङ’ भएको थारू राष्ट्रिय माघी महोत्सव मूल आयोजक समितिका संयोजक प्रेमीलाल चौधरीले जानकारी दिए।

यस पटक थारू जातिले माघी पर्वमा खाने विशेष खानाका परिकार राखिँदैछ। ढिक्री, अन्डिक भात, खिचरी, तिलको लड्डु, लाईमुरी, भुजा, जाँडको झोल, दारू, केराको तरुवा, सक्खरखण्ड, खरिया सुँगुर/बंगुरको मासु र परेवाको मासु परिकारका रूपमा रहने छन्।

त्यसैगरी माछा, घोंघी, गंगटो, सिधरा, आलु सिन्की, बयरको चटनी, बरिया, चामलको गुरी, काथ्या, अन्डिक, तेलपौर, झझ्रा रोटीलगायत परिकार पनि राखिने भएको छ।

महोत्सवमा थरूहट झापादेखि कञ्चनपुरसम्मको पौराणिक सांस्कृतिक नृत्य र गीत पनि प्रस्तुत हुँदैछ। मघौटा, सखिया, हुर्दगंवा, झुम्रा, छोक्रा, दिन्नचुवा, रागनी, बडोनाच, होरी, झर्रा, लठ्हवा, मुग्रंहवा नृत्यसहित गीत प्रस्तुत गर्ने तयारी छ।

पुस ३० गते बिहान कोटेश्वरबाट मोटरसाइकल र्‍याली गरेर भृकुटीमण्डपमा समापन गर्ने कार्यक्रम छ। माघ १ गते बिहान १० बजे थारू सांस्कृतिक, वेशभूषा, बाजागाजा, संघसंस्थाको तुल ब्यानरसहित वसन्तपुरमा जम्मा भई झाँकी र्‍यालीले रत्नपार्क परिक्रमा गर्ने कार्यक्रम गरिएको छ।

प्रकाशित: २९ पुष २०७९ २०:२४ | Friday, January 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast