सांकेतिक तस्बिर।
                                            सर्लाही– कर्मचारी र जनप्रतिनिधिबीच विवाद भएपछि सर्लाहीको हरिपुर्वा नगरपालिका अनिश्चितकालका लागि बन्द भएको छ। बिहीबार जनप्रतिनिधि र कर्मचारीबीच सामान्य विषयमा विवाद भएको र त्यस लगत्तैदेखि अनिश्चितकालका लागि नगरपालिकाको सम्पूर्ण कामकाज ठप्प भएको हो।
केही वडाध्यक्षहरूले बिहीबार प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपानेलाई गालीगलौजसहित दुर्व्यवहार गरेको भन्दै कर्मचारीले नगरपालिकाको सम्पूर्ण कामकाज अनिश्चितकालका लागि बन्द गरेको हरिपुर्वा नगरपालिकाका प्रमुख विनोद साहले बताए।
उनका अनुसार केही वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत न्यौपानेबीच सामान्य विवाद भएको थियो।
नगरकार्यपालिकाले भर्ना कार्यविधि तथा छनोट समिति बनाएर चालक, कार्यालय सहयोगी र सरसफाइकर्मी गरी करिब ३५ जनाको लागि आवेदन खुलाएको थियो। करिब तीन सय जनाले आवेदन दिएका र त्यसबाट खुला प्रतिस्पर्धाबाट करिब ३५ जना छनोट गरिएको थियो। त्यस क्रममा हरिपुर्वा नगरपालिका-३ का वडाध्यक्ष प्रमोद यादवले आफ्नो मान्छे नपरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत न्यौपानेसँग रुष्ट बनेका थिए।
प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले नमानेपछि विवाद सिर्जना भएको र जसका कारण नगरपालिकाका सम्पूर्ण कर्मचारीले नगरपालिकामा ताला लगाएर कामकाज अनिश्चितकालका लागि ठप्प पारेका छन्।
कर्मचारीले दोषी वडाध्यक्षमाथि कारबाहीको माग गर्दै अनिश्चितकालका लागि नगरपालिकाको सबै कामकाज ठप्प पारेको प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताए। नगरपालिकाको कामकाज अनिश्चितकालका लागि ठप्प भएपछि सेवाग्राही मारमा परेको स्थानीय वीरेन्द्र अधिकारीले जानकारी दिए।
जनप्रतिनिधि र कर्मचारीबीच तामेलन नमिल्दा हरिपुर्वामा विकासले गति लिन सकेको छैन। जनप्रतिनिधिबीचको विवादका कारण कर्मचारीले दुर्व्यवहार सहिरहनु परेको अर्का कर्माचारी सुनिल रायले बताए। -रासस

                                             
                                             
                                             
                                             
                                             
                                             

