 खगराज अधिकारी
                             खगराज अधिकारी 
                                            पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले अनावश्यक चालु खर्च घटाइ पुँजीगततर्फ विनियोजित बजेट खर्च बढाउन मन्त्रालयका सचिवहरूलाई निर्देशन दिएका छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार मन्त्री र सचिवहरूबाट प्रस्तुत मन्त्रालयगत बिफ्रिङ कार्यक्रममा उनले यस्तो निर्देशन दिएका हुन्।
सुशासन कायम गर्ने विषय भाषण र नारामा मात्रै सीमित नराखी व्यवहारमा देखिने गरी कार्य गर्नुपर्ने उनको भनाइ छ। आर्थिक ऐन, नियम तथा कार्यविधिको पूर्ण पालना गरी पुराना बेरुजु फछ्र्यौट एवम् नयाँ बेरुजु हुन नदिनेतर्फ विशेष पहल गर्न उनले आग्रह गरे। ‘आर्थिक ऐन, नियम तथा कार्यविधिको पूर्ण पालना गरी पुराना बेरुजु फछ्र्यौट गर्न एवम् नयाँ बेरुजु हुन नदिनेतर्फ विशेष पहल आवश्यक छ। प्रदेश गौरवका आयोजना सम्पन्न गराउन तदारुकताका साथ काम गर्ने सम्बद्ध सबै जिम्मेवार भएर लाग्नुहोला,’ उनले भने।
मुख्यमन्त्री अधिकारीले प्रदेश सरकारलाई मितव्ययी र प्रभावकारी बनाउन छरितो संरचना बनाउने निर्णय भइसकेको र सबै मन्त्रालय र कार्यालयले वस्तुनिष्ठ संगठन संरचना निर्माण गर्न प्रमुख सचिवको अध्यक्षतामा गठित संगठन तथा व्यवस्थापन समितिलाई सहयोग गर्न आग्रह गरे।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 