ग्वार्डिओला भन्छन् : हालान्डलाई सिटीको टिममा अभ्यस्त बनाउने प्रयास भइरहेको छ

हिमाल प्रेस २ माघ २०७९ २१:३० | Monday, January 16, 2023
ग्वार्डिओला भन्छन् : हालान्डलाई सिटीको टिममा अभ्यस्त बनाउने प्रयास भइरहेको छ

काठमाडौँ- म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले स्ट्राइकर एर्लिङ हालान्डलाई टिमको आक्रमणको केन्द्र कसरी बनाउन सकिन्छ भनेर सोच्नुपर्ने आवश्यकता रहेको बताएका छन्। गत शनिबार म्यानचेस्टर युनाइटेडसँगको हारमा हालान्डको प्रदर्शन फिक्का रहेपछि ग्वार्डिओलाको यस्तो भनाइ आएको हो।

ओल्ड ट्राफोर्डमा युनाइटेड २–१ ले विजयी भएको थियो। ज्याक ग्रिलिसले गोल गरे पनि सिटीको हार टरेन। युनाइटेडलाई जिताउन अन्तिम १२ मिनेटमा ब्रुनो फर्नान्डेज र मार्कस रासफोर्डले एक–एक गोल गरेका थिए।

हालान्डलाई युनाइटेडको रक्षापंक्तिले खुलेर खेल्न दिएन। फलतः उनले जम्मा १९ पटक मात्र बल छुन पाए। नर्वेका यी युवा स्ट्राइकरले गोल गर्न नसकेको खेल संख्या तीन पुगेको छ। त्यसअघि उनले २१ खेलमा २७ गोल गरेका थिए।

गत साता साउथह्याम्पटनसँग हार्दै लिग कपबाट बाहिरिएको सिटीको हालको लयमाथि प्रश्न उठिरहेको छ। कतिले हालान्डका कारण सिटीले यो सिजन खेल शैली परिवर्तन गर्नु परेको र यसले टिमको समग्र प्रदर्शनमा असर गरेको जिकिर गरिरहेका छन्। सिटीले पछिल्ला दुई सिजन स्ट्राइकरबिना खेलेर लिग जितेको थियो।

सिटीका पूर्वमिडफिल्डर डिएटमर हमामले ग्वार्डिओलाको टिमले अहिलेकोभन्दा गएको सिजन राम्रो प्रदर्शन गरेको धारणा राखेका छन्। ‘हालान्डले ४० गोल नै किन नगरुन्, म आफ्नो विचारमा अडिग छु। जुन हो, हालान्ड नुहुँदा सिटीले राम्रो खेल्थ्यो,’ हमामले सामाजिक सञ्जालमा लेखेको छन्।

सिटीले हालान्डलाई गत जुनमा पाँच करोड १० लाख पाउन्ड खर्च गरेर अनुबन्ध गरेको हो। बोरुसिया डर्टमन्डमा देखाएको लयका कारण हालान्डलाई अनुबन्ध गर्न चाहने क्लबको सूची लामो थियो। पिता एल्फीको पूर्वक्लब खेल्ने निर्णय गरेका जुनियर हालान्डलाई सिटीमा पूर्णरुपमा अभ्यस्त बनाउने प्रयास भइरहेको ग्वार्डिओलाको भनाइ छ।

‘हाल त्यही प्रयास गरिरहेका छौँ। रक्षात्मक टिमहरूविरुद्ध खेल्दा हालान्डका लागि अहिलेको भन्दा बढी मौका सिर्जना गरिदिनु पर्छ,’ ग्वार्डिओलाले भनेका छन्। विश्वकप विश्रापछि सिटी पुरानो लयमा फर्कन संघर्षरत छ। सिटी शीर्षस्थानको आर्सनलभन्दा आठ अंकले पछि छ। सोचे जस्तो नतिजा ननिस्कनुमा खेल शैली कारक नरहेको ग्वार्डिओलोले स्पष्ट पारे।

‘खेल हाम्रो बिग्रिएको छैन। नतिजा मात्र हाम्रो पक्षामा नआइरहेको हो। साउथह्याम्पटनसँगको खेललाई छाड्ने हो भने अरु खेलमा हाम्रो प्रदर्शन स्थिर थियो। एभरटनविरुद्ध हामीले आफ्नो स्तर अनुसारको खेल देखाएकै हो। एभरटनले जम्मा एकपल्ट प्रहार ग¥यो, त्यसमै गोल गर्नसक्यो,’ हालान्डका कारण खेल शैली परिवर्तन गरेको र त्यसका कारण प्रदर्शन खस्किएको हो भन्ने प्रश्नमा ग्वार्डिओलाको जवाफ थियो।

‘जति खराब खेले पनि हामीले गोलको अवसर सिर्जना गरिरहेका हुन्छौँ। यो हाम्रो सबैभन्दा सबल पक्ष हो। तर समग्रमा सबै पक्षमा हामीले सुधार गर्न जरुरी छ,’ ग्वार्डिओलाले भने।

प्रकाशित: २ माघ २०७९ २१:३० | Monday, January 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast