 
                             
                                            पोखरा- गण्डकी प्रदेशसभाको उपसभामुखमा एमालेकी बिनाकुमारी थापा निर्वाचित भएकी छन्। प्रदेशसभाको सोमबारको बैठकमा थापालाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावमा उनको पक्षमा ३२ मत परेको हो। विपक्षीमा २६ मत परेको छ।
नेपालको संविधानको धारा १८२ (१) बमोजिम प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र सभामुख वा उपसभामुख निर्वाचित भइसक्नुपर्ने संवैधानिक व्यवस्था छ। १५ दिनको सीमा माघ २ गतेसम्म थियो।
उनको पक्षमा एमालेका २१, माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र सांसद १ जनाले मत जाहेर गरेका हुन्। प्रदेशसभा सचिवालयका अनुसार उपसभामुखमा नेपाली कांग्रेसबाट पार्वती तामाङ पनि उम्मेदवार थिइन्। उपसभामुख निर्वाचित थापा बागलुङकी हुन्। उनी समानुपातिक कोटाबाट प्रदेश सदस्य निर्वाचित भएकी हुन्। त्यस्तै, लमजुङकी पार्वती तामाङ नेपाली कांग्रेसबाट समानुपातिक सदस्य बनेकी हुन्।
मुख्यमन्त्री एमालेको भागमा परेको गण्डकीमा सभामुख सत्तारुद माओवादी केन्द्रले पाइसकेको छ। सभामुखमा गोरखाका कृष्णप्रसाद धिताल ‘विजय’ गत ३० पुसमा निर्वाचित भइसकेका छन्। उनको पक्षमा पनि समान ३२ मत र विपक्षमा २६ मत परेको थियो।२०७४ सालको चुनावबाट पनि प्रदेशसभामा माओवादीबाट सभामुख र एमालेबाट उपसभामुख निर्वाचित भएका थिए। त्यसबेला सभामुखमा नेत्रनाथ अधिकारी र उपसभामुख सिर्जना शर्माले ५ वर्षसम्म कार्यकाल चलाएर बिदा भइसकेका छन्।
गण्डकी प्रदेशसभामा एमाले संसदीय दलका नेता खगराज अधिकारी २५ पुसमा नेपालको संविधान १६८ (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त भइसकेका छन्। उनले सपथ ग्रहणकै दिन चार सदस्यीय मन्त्रिमण्डल बिस्तार गरेका थिए।
यस वर्षको प्रदेश सभा निर्वाचनबाट सबैभन्दा बढी २७ सिट जितेर नेपाली कांग्रेस ठूलो दल बनेको हो। यद्यपि केन्द्रमा राजनीतिक जोडघटाउले कांग्रेस प्रमुख प्रतिपक्षमै सीमित भएको छ। यहाँ दोस्रो ठूलो दल एमालेका २२, माओवादीका ८, राप्रपाका २ र एकीकृत समाजवादी प्रवेश गरेका स्वतन्त्र सांसद (राजीव गुरुङ) गरी कुल ६० सदस्य छन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 