 
                             
                                            काठमाडौँ- गण्डकी प्रदेशसभामा आज सभामुखको निर्वाचन हुने भएको छ। यसका लागि प्रदेश सभाको बैठक आज अपराह्न ३ बजे बोलाइएको छ। प्रदेश सभाको अध्यक्षता गरेका मित्रलाल बस्यालले शुक्रबारको बैठकमा प्रदेश सभामुख चयन गर्नका लागि शनिबार बैठक बोलाएका हुन्।
गण्डकी प्रदेशमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रलाई सभामुख दिने सहमति भएको छ। सत्ता गठबन्धनकै बहुमत भएकाले माओवादी केन्द्रका उम्मेदवार कृष्ण धिताल सभामुख हुने लगभग निश्चित छ।
पार्टीको संसदीय दलको बैठकले धिताललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले जानकारी दिए।
प्रतिपक्षी दल नेपाली कांग्रेसले भने उम्मेदवार टुंगो लगाइसकेको छैन। कांग्रेस संसदीय दलको बैठकले सभामुखको उम्मेदवार तय गर्ने जिम्मा दलको नेतालाई दिएको छ।
गण्डकी प्रदेशमा शुक्रबार मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका थिए।
मुख्यमन्त्री अधिकारीलाई एमालेका २२ मध्ये २१, माओवादी केन्द्रका ८ र राप्रपाका २ जना गरी ३१ सांसदले विश्वासको मत दिएका थिए। ज्येष्ठ सदस्यको हैसियतमा सभा सञ्चालन गरेका एमाले सांसद मित्रलाल बस्यालले भने मतदानमा भाग लिएनन्।
६० सदस्य रहेको प्रदेश सभामा २७ सिटसहित सबभन्दा ठूलो दल नेपाली कांग्रेसले भने विपक्षमा मत दिएर प्रमुख प्रतिपक्षी दल बनेको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 