काठमाडौँ महानगरको पूर्वाधार एम्बुलेन्स प्रयोगविहीन

हिमाल प्रेस ३० पुष २०७९ ९:१६ | Saturday, January 14, 2023
काठमाडौँ महानगरको पूर्वाधार एम्बुलेन्स प्रयोगविहीन

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले विगत छ महिनादेखि सञ्चालनमा ल्याएको भौतिक पूर्वाधार एम्बुलेन्स प्रयोगविहीन जस्तै भएको छ।

ट्राफिक जाम र सडक दुर्घटना कम गर्ने भन्दै कामपाले गत असार पहिलो सातादेखि उक्त एम्बुलेन्स सञ्चालनमा ल्याएको थियो। सञ्चालनको सुरुआती समयमा दैनिक १५ वटासम्म गुनासो आउने र सोहीअनुरुप समाधान हुने गरेको थियो। अहिले चार पाँच दिनमा मुस्किलले एउटा गुनासो आउने गरेको कामपा भौतिक पूर्वाधार विभाग प्रमुख राम थापाले जानकारी दिए।

उनका अनुसार अहिले नगन्य मात्रामा सडकको खाल्डो पुर्न गुनासो आउँछ। त्यो पनि सम्बन्धित वडाध्यक्षबाट आउछ । नागरिकले कामपाको टोल फ्रि नम्बरमा फोन गरेर खाल्डो पुर्न गुनासो गर्न भने छोडेका छन्।

सुरुमा कामपाले वातावरण विभागको दुई वटा गाडीलाई मर्मत गरेर भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालन गरिएको हो । तत्कालको समयमा ती दुईलाई काम भ्याउन मुस्किल थियो। अहिले दुईमध्ये एक बिग्रिएको छ। भएको एउटाले पनि काम पाउन सकेको छैन। ‘चार पाँच दिनमा एउटा काम गर्न गुनासो आउँछ’, विभागका प्रमुख थापाले भने।

विशेष गरी कामपाको क्षेत्रभित्रबाट सडकको खाल्डो पुर्न आएको गुनासोकोे तत्काल सम्बोधन गर्न उक्त एम्बुलेन्स प्रयोग ल्याइएको थियो। बर्खाको तुलनामा अहिले सडकमा खाल्डा कम पर्ने, सडक विभागले गर्नुपर्ने स्थानमा काम नियमित भइरहेको र कामपाले आफ्नो अधिकार क्षेत्रभित्रका सडक मर्मत काम नियमित गरिरहेकाले पूर्वाधार एम्बुलेन्सले काम नपाएको प्रमुख थापाको भनाइ छ।

नगन्यरुपमा आएको गुनासो महानगरका इन्जिनियर र कामदारसहित तीन जनाको टोली टोलटोलमा पुगेर सडक मर्मतको काम भने गरिरहेकै छन्। अहिलेसम्म डल्लु, नयाँबानेश्वर, बुद्धनगर र बालुवाटार क्षेत्रमा धेरै यस्ता किसिमको काम भएको जनाइएको छ। दिउँसोको समयमा सडकमा मर्मतको काम गर्दा ट्राफिक व्यवस्थापनमा समस्या हुन थालेपछि कामपाले बिहान र साँझमात्र यस्ता काम गर्न थालेको छ।

प्रकाशित: ३० पुष २०७९ ९:१६ | Saturday, January 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast