कपिलवस्तुका उखु किसान भन्छन्- माग सुनुवाई नभए माइतीघरमा धर्ना दिन्छौं

हिमाल प्रेस ५ माघ २०७९ १९:५६ | Thursday, January 19, 2023
कपिलवस्तुका उखु किसान भन्छन्- माग सुनुवाई नभए माइतीघरमा धर्ना दिन्छौं सांकेतिक तस्बिर।

कपिलवस्तु– कपिलवस्तुका उखु किसानहरू आन्दोलित भएका छन्। उखु किसानले पाउनुपर्ने रकम नपाएको भन्दै बिहीबार इलाका प्रशासन कार्यालय चन्द्रौटामार्फत सरकारलाई उनीहरूले ज्ञापन पत्र बुझाएका छन्। आव २०७१/७२ मा प्रतिक्विन्टल नेपाल सरकारले दिने निर्णय गरेको रकम पनि अहिलेसम्म नदिएको भन्दै उक्त रकमको माग गरिएको छ।

यस्तै महालक्ष्मी सुगर मिलले किसानको रकमबाट खरिद गरेको ड्रिल मेसिन आफ्नो नाममा गरेकाले उक्त मेसिन किसान संघको नाममा गरिदिने, ०७३/७४ मा सरकारले तोकेको मूल्यभन्दा महालक्ष्मी सुगर मिलले कम मूल्यमा उखु खरिद गरेकाले सो रकम उपलब्ध गराउनुपर्ने माग राखेका छन्।

सरकारले उखुको मूल्य बर्सेनि तोक्ने तर स्थानीय व्यापारीले किसानाई रकम नदिने गरेकाले यसमा सरकारले ध्यान दिनुपर्ने कपिलवस्तु किसान संघका अध्यक्ष अनुपकुमार चौधरीले बताए।

किसानको मागमा सिँचाइको व्यवस्था, किसानले ट्र्याक्टर खरिदमा भन्सारमा सहुलियत, चिनी मिलको स्थापनालगायतका नौ बुँदे माग गरेका छन्। पटक-पटकको आन्दोलनपछि ०७७ साल पुस १३ गते नेपाल सरकारसँग अनुदान रकम दिने सम्झौता भए पनि कार्यान्वयन नहुँदा पुनः आन्दोलनको तयारी रहेको अध्यक्ष चौधरीले बताए। ज्ञापनपत्र दिँदै अध्यक्ष चौधरीले माघ २० गतेसम्म पनि कुनै सुनुवाइ नभए काठमाडौँस्थित माइतीघर मण्डलामा धर्ना प्रदर्शन गर्ने जानकारी दिए।

किसानहरूले जीविकोपार्जनका रूपमा उखुखेती गरे पनि सरकारले किसानलाई संरक्षण गर्नुपर्ने समयमा उद्योगलाई संरक्षण गरेको आरोप लगाए। पटक-पटक आन्दोलन गर्दासमेत सुनुवाइ नभएकाले किसान पीडित बन्ने अवस्थामा रहेको चौधरीको भनाइ छ। विगतको तुलनामा उखु उत्पादन गर्ने किसानको संख्या पनि घटेकाले ध्यान दिनुपर्ने उनको भनाइ छ।

प्रकाशित: ५ माघ २०७९ १९:५६ | Thursday, January 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast