ऐतिहासिक झोलुंगे पुल संरक्षण गरिँदै

हिमाल प्रेस १७ माघ २०७९ ८:१३ | Tuesday, January 31, 2023
ऐतिहासिक झोलुंगे पुल संरक्षण गरिँदै सांकेतिक तस्बिर।

म्याग्दी- बेनी नगरपालिका–७ र २ को सिमाना मंगलाघाटस्थित डेढ सय वर्ष पुरानो झोलुङ्गे पुल संरक्षण थालिएको छ।

मंगलाघाट र बेनी नगरपालिका–२ ज्यामरुककोटको हाँडेभिरलाई जोड्ने म्याग्दी खोलामा विसं १९४४ मा स्थानीय प्रविधि र स्रोत साधनको प्रयोग गरी बनाइएको झोलुंगे जीर्ण बनेपछि मर्मत थालिएको हो। बेनी नगरपालिका–७ का वडाध्यक्ष रमेश श्रेष्ठले स्वरुप नबिग्रने गरेर पुल मर्मत गर्न लागिएको जानकारी दिए।

‘स्थानीयवासीलाई आवतजावतमा सहज, सुरक्षित बनाउने र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पुल मर्मतको काम चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्यसहित काम थालिएको छ’, उनले भने, ‘प्रादेशिक झोलुंगे पुल कार्यक्रमको सहयोग, मिलन म्याग्दीको सामाजिक परिचालनमा बेनी नगरपालिकाले पुल मर्मत गर्न लागेको हो।’

नदीबाट पुलको उचाइलाई अहिलेको भन्दा बढाउने र काठको ठाउँमा ‘स्टिल डेग’ राखिने भएको छ। बयालीस मिटर लामो पुलको पुनःनिर्माण गर्न करिब ४५ लाख रुपैयाँ लागत अनुमान गरिएको प्रादेशिक झोलुंगे पुल कार्यक्रमका प्राविधिक दयाराम शाहले बताए। पर्खाल भत्काएर पुरानै ढुंगाबाट नयाँ बनाउने, पुरानै लठ्ठालाई तन्काएर राखिने उनले बताए।

बागलुङ गलकोटका लालप्रसाद शेरचनले लुकुर वनको काँचो फलाम र म्याग्दीको रुमगाउँका स्थानीयवासीको सीपलाई प्रयोग गरी निर्माण गरेको उक्त पुल यस क्षेत्रकै पहिलो हो। स्थानीयवासी कृष्णबहादुर सार्कीका अनुसार तत्कालीन समयमा काँचो फलामलाई गोलमा तताएर कुटेर साङ्ले लठ्ठा बनाएर पुल निर्माण गरिएको थियो।

पुलमा प्रयोग भएका साङ्ले लठ्ठा सोही समयमा स्थानीय स्रोत र सीपलाई प्रयोग गरी बनाइएका हुन्। तत्कालीन समयमा दुईवटा साङ्ले लठ्ठामा फलामको पाता राखेर एउटा काठको फल्याकमात्रै राखेर वारपार गर्ने झोलुंगे बनाइएको थियो। काठको फल्याकको ठाउँमा स्टिलको डेग राखिने भएको छ।

विसं २०१४ मा बाबियाचौरमा बसोबास गर्ने पुलका निर्माणकर्ता शेरचनका नाति भीमप्रसाद शेरचनका दाजुभाइको पहलमा हालको झोलुंगे पुलको रूपमा विकास गरिएको बेनी बजारका ज्येष्ठ नागरिक नैनकुमार श्रेष्ठले बताउनुभयो । साङ्ले लठ्ठाको तौल धेरै भएकाले नदीमा लठ्ठालाई तन्काउन तत्कालीन समयमा यस क्षेत्रका प्रायःजसो सबै गाउँबाट स्थानीय बेनी झेरका बूढापाका बताउँछन्।

यो ठाउँमा त्यसअघि कुनै पुल थिएनन्। तत्कालीन गुल्मी र बागलुङमा अड्डा रहँदा म्याग्दी र पर्वतका सबैजसो यही बाटो भएर वारपार गर्थे। लामो समयसम्म म्याग्दीखोला पारि र वारिका स्थानीयले वारपार गर्ने मुख्य बाटो यही थियो।

प्रकाशित: १७ माघ २०७९ ८:१३ | Tuesday, January 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast