 
                             
                                            काठमाडौँ- वरिष्ठ कलाकार एवं साहित्यकार लैनसिंह बाङ्देलको सालिक एघार वर्षपछि खोटाङको ऐसेलुखर्क गाउँपालिकामा उद्यान (पार्क) निर्माण गरेर राखिएको छ।
दिक्तेल बजारमा अलपत्र अवस्थामा रहेको उनको अर्धकदको सालिक ऐसेलुखर्क–१ राखाबाङ्देलको शुक्रबारेडाँडास्थित बेनेसेनमा उद्यानमा राखिएको हो।
साहित्यकार बाङ्देलको सालिक वडा कार्यालयबाट दुई लाख रुपैयाँ बजेट विनियोजन गरेर घेराबारासहितको उद्यान निर्माण गरेर राखिएको वडाध्यक्ष पुरुषोत्तम राजभण्डारीले बताए। ‘राखाबाङ्देल कलाकार बाङ्देलको पुख्र्यौली थलो हो’, उनले भने, ‘लामो समयसम्म दिक्तेल बजारमा अलपत्र बनेको बाङ्देलको सालिक वडा कार्यालयको सहयोगमा उद्यान निर्माण गरेर उहाँकै पुर्खौली थलोमा सम्मानस्वरुप राखिएको छ।’
सार्वजनिकस्थलमा राख्ने गरी मोरङको बेलबारीका मूर्तिकार श्याम गौतमले बाङ्देलको सालिक बनाएर विसं २०६७ मा तत्कालीन जिल्ला विकास समितिलाई हस्तान्तरण गर्नुभएको थियो। कलाकार गौतमले बाङ्देलको सालिकसहित हलेसीमा राख्ने गरी एउटा शिवलिंग र बसाहाको ढुंगेमूर्ति निःशुल्क हस्तान्तरण गरेको जनाइएको छ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित पसल तथा होटलको पेटीमा अपमानित तरिकाले पाँच–छ वर्ष राखिएको बाङ्देलको सालिकलाई विसं २०७३ मा तत्कालीन गाविसबाट ढुवानी खर्च छुट्याएर ट्र्याक्टरमा बोकेर राखाबाङ्देल लगिएको थियो।
दिक्तेलसम्म सालिक पु¥याउने क्रममा तत्कालीन जिल्ला विकास समितिले गौतमलाई ३० हजार भाडा दिएको जनाइएको छ। जिविस र जिल्लास्थित राजनीतिक दलका नेताहरूले दिक्तेलको रत्नपार्क आसपासमा बाङ्देलको सालिक राख्ने निर्णय गरेका थिए। तर निर्णय कार्यान्वयनमा कसैले चसो नदिँदा कलाकार बाङ्देलको सालिक दिक्तेल बजारमा वर्षौँसम्म सडकपेटीमा प्लाष्टिकले छोपेर बेवारिसे अवस्थामा राखिएको थियो।
स्थापनामा चासो नदिइँदा दिक्तेलमा बेवारिसे बनेको कलाकार बाङ्देलको सालिक स्थापनाका लागि विसं २०७१ मा अगमसिं राईको संयोजकत्वमा १५ सदस्यीय लैनसिं बाङ्देल प्रतिमा स्थापना समिति गठन गरिएको थियो।
नाछिरिङ राई समुदायका साहित्यकार बाङ्देकको सालिकलाई पुर्खौली थलो राखाबाङ्देल लैजान सोही ठाउँका नाछिरिङ समुदायले नै अग्रसरता देखाएका थिए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                    


 
  
  
  
  
  
  
  
  
  
 