 
                             
                                            काठमाडौँ- आर्थिक वर्ष २०७२/७३ को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका तत्कालीन गभर्नर डा. चिरञ्जीवि नेपालले वाणिज्य बैंकहरूको चुक्ता पुँजी आठ अर्ब पुर्याउनुपर्ने व्यवस्था गरे। यसका लागि २०७४ असार मसान्तसम्मको समय दिइएको थियो।
चुक्ता पुँजी वृद्धिको उद्देश्य थियो वाणिज्य बैंकको संख्या घटाउनु। तत्कालीन समयमा लिइएको उक्त नीतिले अहिले आएर तीव्रता पाएको छ। यसबीच केही वाणिज्य बैंकहरू मर्जर भए पनि पछिल्लो पटक भएको मर्जरको लहरले ‘बिग मर्जर’को तत्कालीन उद्देश्य पूरा भएको अनुभूत हुने गरी वाणिज्य बैंकको संख्या घटेको हो।
पुस महिनामा मात्रै आठवटा वाणिज्य बैंक एकापसमा गाभिएका छन् भने थप दुई वाणिज्य बैंक गाभिने चरणमा छन्। नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल लिमिटेड एकापसमा गाभिनका लागि बुधबार आयोजित कार्यक्रममा अध्यक्ष पृथ्वीबहादुर पाँडेले व्यक्त गरेको धारणाले पनि सरकारको नीति कार्यान्वयनमा वाणिज्य बैंकहरू लागिपरेको स्पष्ट बुझ्न सकिन्छ।
उनले बैंक तथा वित्तीय संस्था सबल बन्दा वित्तीय क्षेत्रमा थप ऊर्जा प्रदान गर्नुका साथै राष्ट्र बैंकको मर्जर नीतिलाई थप उत्साह प्रदान गरी अन्य बैंकलाई समेत मर्जरका लागि प्रेरित गरेको बताएका थिए।
दुई बैंकबीच सेयर स्वाप अनुपात १००:९० छ। एकापसमा गाभिएपछि बनेको नेपाल इन्भेष्टेमेण्ट मेगा बैंकको अध्यक्षमा साविक इन्भेष्टमेण्ट बैंककै अध्यक्ष पाँडे र प्रमुख कार्यकारी अधिकृतमा ज्योतिप्रकाश पाण्डे छन्।
पुस मसान्तभित्र मर्जरमा नजाँदा राष्ट्र बैंकले दिने सुविधाबाट बञ्चित हुने भएपछि बैंकहरू हतार–हतार मर्ज भएर एकीकृत कारोबार सुरू गरेका हुन्।
त्यसका साथै पुस महिनामै कुमारी र एनसीसी, ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू (बीओके), प्रभु र सेन्चुरी बैंक एकापसमा गाभिएर एकीकृत कारोबार सुरू गरिसकेका छन्।
कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंक मर्जरपश्चात गत पुस १६ देखि कुमारी बैंकको नामबाट एकीकृत कारोबार सुरू भइसकेको छ। दुई बैंक १ः१ शेयर अनुपातमा मर्जर भएका हुन्।
नेपालमा ‘बिग मर्जर’मा बहार ल्याउने बैंकका रूपमा ग्लोबल आइएमई बैंक अग्रस्थानमा छ। बैंकले पछिल्लोपटक बैंक अफ काठमाण्डूलाई गाभेको छ। पुस २५ देखि ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरू गरेको छ।
बैंकका अध्यक्ष चन्द्र ढकाल बैंक तथा वित्तीय क्षेत्रमा रचनात्मक र गुणात्मक परिवर्तन ल्याउन सकियोस् भन्ने उद्देश्य हालसम्म विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थालाई मर्जर र प्राप्ति गरेर ग्लोबल आइएमई देशको सबैभन्दा ठूलो बैंक बन्न सफल भएको बताए।
त्यस्तै प्रभु र सेञ्चुरी बैंक मर्ज भएर पुस २६ गतेदेखि प्रभु बैंकको नामबाट एकीकृत कारोबार सुरू भएको छ। प्रभु बैंक र सेञ्चुरी बैंकबीच एक बराबर एक सेयर रहने गरी एकापसमा गाभिएका हुन्।
यसैगरी लक्ष्मी बैंक र सनराइज बैंकले पनि मर्जरका लागि सम्झौता गरेका छन्। मर्जरका लागि दुबै बैंकबाट दुई-दुई जनाको मर्जर समिति बनाइएको छ। मर्जरपछिको नाम लक्ष्मी सनराइज हुने सहमति भएको छ।
माघ महिनाभित्र एकीकृत कारोबार सुरु गर्ने गरी हिमालयन बैंकले सिभिललाई गाभ्ने प्रक्रिया अगाडि बढाएको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 