आचार्यको मृत्युमा म पनि दोषी छु : उपप्रधान तथा गृहमन्त्री लामिछाने

हिमाल प्रेस ११ माघ २०७९ १०:३४
आचार्यको मृत्युमा म पनि दोषी छु : उपप्रधान तथा गृहमन्त्री लामिछाने तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रेमप्रसाद आचार्यको निधनमा आफू पनि दोषी रहेको बताएका छन्। आफूहरूको राजनीतिक उपस्थितिले पनि परिवर्तन नदेखेर मृत्युवरण गर्नुमा राजनीतिक दल र नेताले आशा देखाउन नसकेको लामिछानेको भनाइ छ।

गृहमन्त्री लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एउटा नागरिकले अत्मदाह गर्नुपर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र? यस्तै परिस्थितिका कारण शान्त विद्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौँ।’ उनले आत्मदाहको निर्णय हिजोदेखिको निराशा र पीडाको परिणामका रुपमा आएको विश्लेषण गरेका छन्।

उनले भनेका छन्, ‘दुःख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँहरूको आगमनले समेत तपाईँमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन। यसमा हामी दोषी छौँ, म दोषी छु। प्रेम आचार्य जी, नयाँ राजनीतिक दल र नेताका रूपमा तपाईँमा आशा जगाउन सकेनौँ, हामीलाई माफ गर्नुहोला। तपाईंको आत्माले चिर शान्ति पाओस् ,परिवारलाई यो पीडा सहने शक्ति मिलोस्।’

मंगलबार संसद् भवनअगाडि आत्मदाह प्रयास गरेका आचार्यको उपचारका क्रममा मृत्यु भएको छ। उनले शरीरमा आगो लगाउनुपूर्व सामाजिक सञ्जालमा राज्यप्रतिको व्यापक असन्तुष्टि देखाएका छन्।

आर्थिक समस्याका कारण परिवार चलाउन नसकेको उनको गुनासो थियो। उनले सामाजिक सञ्जालमा गृहमन्त्री लामिछानेको समेत नाम उल्लेख गरेका थिए।

मंगलबार बेलुका स्वास्थ्यराज्यमन्त्री तोसिमा कार्की उनलाई भेट्न पुगेकी थिइन्। मन्त्रीसँगको भेटमा आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री लामिछानेसँग भेट्न चाहेको बताएका थिए।

प्रकाशित: ११ माघ २०७९ १०:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast