 अमृता प्रीतम
                             अमृता प्रीतम
                                            अमृता प्रीतम पञ्जाबकी प्रसिद्ध लेखिका हुन्। पञ्जाबको गुजरावालामा सन् १९१९ मा जन्मिएकी उनी पञ्जाबी भाषाकी पहिलो कवि मानिन्छिन्। सयभन्दा बढी किताब लेखेकी उनको आत्मकथा ‘रसिदी टिकट’ निकै चर्चित छ।
त्यसबाहेक ‘पिञ्जर’, ‘आँसु’, ‘दिल्ली की गलियाँ’ उपन्यास र ‘रोजी’, ‘दावत’लगायत कविता प्रख्यात छन्। अमृताका कृति अनेकौँ भाषामा अनूदित छन्।
उनले भारतको सर्वोच्च नागरिक सम्मान पद्म विभूषण पाएकी थिइन्। त्यस्तै साहित्य एकेडेमी, भारतीय ज्ञानपीठलगायत पुरस्कार पनि उनले पाइन्। सन् २००५ मा भारतको राजधानी दिल्लीमा उनको मृत्यु भएको थियो। प्रस्तुत छ अमृताका दुई कविता :
वसियत
आफ्नो पूरा होसहवासमा
लेखिरहेकी छु आज
आफ्नो वसियत
म मरेपछि
खोतल्नु मेरो कोठा
उधिन्नु हरेक सामान
घरभरि, ताल्चा नलगाई मेरो सामान छरपस्ट छन्
मेरा सपना दिनू
ती सबै महिलालाई
जो आफ्नो संसारमा
भान्सादेखि ओछ्यानसम्म मात्रै सीमित भएका छन्
हराइसकेका छन्,
वर्षौँअघि उनीहरूले सपना बुन्न बिर्सिसकेका छन्
बाँडिदिनू मेरो हाँसो
वृद्धाश्रमका ती बूढाबूढीलाई
जसका सन्तान अमेरिकाका झिलीमिली सहरमा हराएका छन्
मेरो टेबुलमा हेर्नू
त्यहाँ केही रङ छन्
ती रङले विधवाको साडी रंगाउनू
जसको श्रीमान्को रगतले
सिमाना रंगिएको छ
झण्डामा बेरिएर
ऊ हिजो बेलुका चीरनिद्रामा गइसक्यो
मेरा आँसु दिनू
सायरहरूलाई
बाचा गर्छु, तिनको हरेक थोपाबाट
एउटा गजल बन्नेछ
मेरो मान, मेरो इज्जत
ती वेश्याका नाम गर्छु
जो छोरी पढाउन
आफ्नो शरीर बेच्छे
यस देशको एकएक युवालाई समातेर
मेरो आक्रोशको इन्जेक्सन लगाइदिनू
क्रान्तिमा उनलाई यसको आवश्यकता पर्ला
मेरो पागलपन
ती सूफीको भागमा पर्नेछ
जो सबथोक छाडेर
ईश्वरको खोजीमा निस्किएको छ!
बाँकी रह्यो,
मेरो ईष्र्या
मेरो लालच
मेरो क्रोध
मेरो झुट
मेरो स्वार्थ
तिनलाई मसँगै जलाइदिनू…
म तिमीलाई फेरि भेट्नेछु
म तिमीलाई फेरि भेट्नेछु
कहाँ? कसरी? थाहा छैन
सायद तिम्रो कल्पनाको प्रेरणा बनेर
तिम्रो क्यानभासमा उत्रिनेछु
या तिम्रो क्यानभासमा
एक रहस्यमयी धर्सो बनेर
चुपचाप तिमीलाई हेरिरहनेछु
म तिमीलाई फेरि भेट्नेछु
कहाँ? कसरी? थाहा छैन
या सूर्यको किरण बनेर
तिम्रो रङमा घोलिनेछु
या रङहरूमा मिसिएर
तिम्रो क्यानभासमा फिँजिनेछु
थाहा छैन कहाँ? कसरी?
तर म तिमीलाई अवश्य भेट्नेछु
या एक चस्मा बन्नेछु
जसरी झरनाको पानी बग्छ
म पानीका थोपा
तिम्रो जीउमा दल्नेछु
शीतल बनेर
तिम्रो छातीमा टाँसिनेछु
मलाई अरू केही थाहा छैन
तर यति थाहा छ
समयले जे गरे पनि
यो जन्म मसँगै जानेछ
यो शरीर सकिए
सबै कुरा सकिन्छ
तर सम्झनाका धागा
ब्रह्माण्डका क्षणजस्ता हुन्छन्
म ती क्षणलाई समेट्नेछु
अनि ती धागामा उन्नेछु
म तिमीलाई फेरि भेट्नेछु
कहाँ? कसरी? थाहा छैन
म तिमीलाई फेरि भेट्नेछु।

 हिमाल प्रेस
                     हिमाल प्रेस                    


 
  
  
  
  
  
  
  
  
  
 