अनेरास्ववियुको महाधिवेशन अनिश्‍चित, फागुनमै गर्न पार्टीको दबाब

हिमाल प्रेस २८ पुष २०७९ १५:३५ | Thursday, January 12, 2023
अनेरास्ववियुको महाधिवेशन अनिश्‍चित, फागुनमै गर्न पार्टीको दबाब

काठमाडौँ- अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को २३ औँ महाधिवेशनको मिति तोक्ने विषयमा केन्द्रीय कमिटीमा विवाद भएको छ।

फागुनमै महाधिवेशन गर्न नेकपा एमालेले निर्देशन दिए पनि कहिले गर्ने भन्ने विषयमा बुधबार बसेको अनेरास्ववियु बैठकमा पादधिकारीबीचमा विवाद भएपछि महाधिवेशन अनिश्चित बनेको हो।

अनेरास्ववियु अध्यक्ष सुनिता बराल, महासचिव समिक बडालले फागुन २, ३ र ४ गते महाधिवेशन गर्ने विषयमा सहमति जनाएका थिए। तर, वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, सचिव धर्म गिरीलगायतले स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन)को निर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्ने बताएका थिए। उनीहरूले चैत अन्तिममा अनेरास्ववियुको निर्वाचन गर्न प्रस्ताव गरेका थिए।

‘अहिले भर्खरै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सकिएको छ। स्ववियु निर्वाचनको तयारी पनि गर्नुपर्नेछ। यस्तो अवस्थामा महाधिवेशनका लागि तयारी पुग्दैन,’ सचिव गिरीले भने,  ‘स्ववियु निर्वाचनपछि महाधिवेशन गर्नु उपयुक्त हुन्छ।’ अनेरास्ववियुले महाधिवेशन भने काठमाडौँमै गर्ने जनाएको छ।

लामिछाने अनेरास्ववियु महाधिवेशन आयोजक कमिटीको संयोजक बन्न खोजेको भए पनि अध्यक्ष बरालले आफ्नै नेतृत्वमा महाधिवेशन हुने बताएकी थिइन्। अनेरास्ववियुमा बराल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेकाले अध्यक्षबाट राजीनामा दिनुपर्ने माग उठ्दै आएको छ।

अनेरास्ववियुमा वरिष्ठ उपाध्यक्ष लामिछाने र महासचिव बडाल दुवै अध्यक्षका आकांक्षी हुन्।

प्रकाशित: २८ पुष २०७९ १५:३५ | Thursday, January 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast