सहिदको सपनालाई विपनामा रूपान्तर गर्ने संकल्प गरौँ : देउवा

हिमाल प्रेस १६ माघ २०७९ ७:२५ | Monday, January 30, 2023
सहिदको सपनालाई विपनामा रूपान्तर गर्ने संकल्प गरौँ : देउवा कांग्रेस सभापति शेरबहादुर देउवा। फाइल तस्बिर

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादु देउवाले सहिदहरूले देखाएको बाटोमा संकल्पसहित लाग्नुपर्ने बताएका छन्।

सोमबार सहिद दिवसको अवसरमा एक सन्देश जारी गर्दै देउवाले यस्तो बताएका हुन्।

‘आज सहिद दिवसको अवसरमा देश र लोकतन्त्रको हित रक्षाको निमित्त हामीले आफ्ना सानातिना मतभेदलाई बिर्सेर सहिदको सपनालाई विपनामा रूपान्तर गर्न संकल्प गरौं। नेपाललाई एक सुन्दर, शान्त र समुन्नत राष्ट्रमा परिणत गर्नका लागि जिम्मेवार हामी सबै पक्षलाई सहिद दिवसले प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु,’ सन्देशमा उनले भनेका छन्।

वि.सं. १९९७ देखि ०६२/६३ हुँदै आजसम्मका विभिन्न कालखण्डमा वीर सपुतहरूले प्राणको आहुति दिएकाले नेपाली नागरिकसामु आजको व्यवस्था आएको उनले जनाएका छन्।

‘नेपाली जनतालाई पूर्ण राजकीयसत्ता र सार्वभौमसत्ता सम्पन्न बनाउनका लागि आफूलाई उत्सर्ग गर्ने तिनै अमर सहिदहरूमा श्रद्धा व्यक्त गर्न, उनीहरूको साहस, संकल्प र आदर्शलाई सम्मान गर्न आज हामी सहिद दिवस मनाइरहेका छौं,’ सन्देशमा उल्लेख छ।

प्रकाशित: १६ माघ २०७९ ७:२५ | Monday, January 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast