कांग्रेसमा शेखर-गगनबीच के होला सहमति?

हिमाल प्रेस ४ पुष २०७९ १६:१६ | Monday, December 19, 2022
कांग्रेसमा शेखर-गगनबीच के होला सहमति?

काठमाडौँ- संसदीय दलको नेतामा सहमति जुटाउन कांग्रेस इतर पक्षका नेता छलफलमा जुटेका छन्। कांग्रेसले संसदीय दलको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेपछि नेताहरू छलफलमा जुटेका हुन्। कांग्रेसमा सभापति शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा र नेता डा. शेखर कोइरालाले संसदीय दलको नेतामा आकांक्षा देखाएका छन्। देउवा संसदीय दलको नेता चयन भएर छैटौँपटक प्रधानमन्त्री बन्ने दाउमा छन्।

यस्तै इतर पक्षबाट महामन्त्री थापा र कोइराला दुवैले दलको नेतामा आकांक्षा देखाएका छन्। एकै पक्षबाट दुई जनाले उम्मेदवारी दिँदा देउवालाई थप सजिलो हुन सक्छ भन्दै महामन्त्री थापा र नेता डा. कोइराला सहमतिका लागि छलफलमा जुटेका छन्।

महामन्त्री थापा चुनाव लडेरै छाड्ने पक्षमा छन्। उनी निकट स्रोतले भन्यो, ‘चुनाव लड्ने हो। परिणाम जे आउँछ, त्यसलाई स्वीकार गरेर अघि बढ्ने भन्ने छ।’ ८९ सदस्यीय कांग्रेस संसदीय दलमा सभापति देउवा बलिया मानिन्छन्। त्यसैले उनलाई टक्कर दिन पनि महामन्त्री थापा र कोइराला एकजुट हुनैपर्ने कांग्रेस नेताहरू बताउँछन्। दुवैले चुनाव लडेमा देउवालाई झन् फाइदा हुने बुझाइ उनीहरूको छ।

महामन्त्री थापाले कोइरालालाई पार्टीको सभापतिका लागि अघि सारेर भए पनि संसदीय दलको चुनाव लड्ने पक्षमा रहेको अर्का एक नेता बताउँछन्। थापाले कोइरालासँग गरेको आग्रह उधृत गर्दै ती नेताले भने, ‘म संसदीय दलको नेतामा चुनाव लडेको भोलिपल्टदेखि नै तपाईँलाई भावी सभापतिका रूपमा अघि सार्नेछु। अहिले मलाई सहयोग गर्नुपर्छ।’ तर कोइराला यसमा आश्वस्त हुन सकेका छैनन्।

महामन्त्री थापाले निर्वाचनका बेला घरदैलोमा जाँदा भावी प्रधानमन्त्री भन्दै मत मागेका छन्। त्यसैले उनलाई संसदीय दलमा लड्नैपर्ने बाध्यता छ। डा. कोइराला कांग्रेसको चौधौँ महाधिवेशनमा सभापति पदमा शेरबहादुर देउवालाई टक्कर दिएका नेता हुन्। उक्त महाधिवेशनपछि इतर समूहको नेतृत्व गर्दै आएका कोइराला संसद् पनि इतर पक्षको नेतृत्व गर्ने चाहन्छन्।

महाधिवेशनमा कोइराला सभापति लड्दा सोही समूहबाट महामन्त्रीमा लडेको थापा नेतृत्व युवा पुस्ताले लिनुपर्ने पक्षमा छन्। संसदीय दलका नेता प्रधानमन्त्रीको उम्मेदवार बन्ने प्रावधान छ। कांग्रेस संसदीय दलको चुनाव बुधबार हुने कार्यतालिका छ।

प्रकाशित: ४ पुष २०७९ १६:१६ | Monday, December 19, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast