स्थानीय तहका विद्यार्थीलाई चेतनामूलक पाठ्य सामग्री तयार पारिँदै

हिमाल प्रेस ४ पुष २०७९ १०:२५
4
SHARES

चितवन- सुरक्षित समाज निर्माणका लागि नेपाल प्रहरीले स्थानीय तहमा  पाठ्य सामग्री तयार पारेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनले चेतनामूलक विद्यालय पाठ्य सामग्री २०७९ तयार गरी जिल्लाका सातै पालिकासँग सम्झौता गरेर पाठ्यक्रमको रूपमा प्रयोग गरेको हो।

विसं २०७८ चैत २४ गते भरतपुर महानगरपालिकासँग सम्झौता गरेर पाठ्य सामग्री विद्यालयमा सुरु गरिएकोमा आइतबार इच्छाकामना गाउँपालिकासँग सम्झौता गरी जिल्लाभर पुर्‍याएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार ती पाठ्य सामग्री केही परिमार्जन गर्दै सम्बन्धित पालिका र जिल्ला प्रहरी कार्यालयको साझेदारीमा छपाइ गरेर बाढिएको हो।

जिल्लाका सबै विद्यालयमा पुग्ने गरी पाठ्य सामग्री व्यवस्थापन गरिँदै छ। पाठ्य सामग्रीमा लागूऔषध दुव्यवसनी, धूमपान, मध्यपान, साइबर अपराध र उजुरी गर्ने तरिका, सामाजिक सञ्जालको सुरक्षित प्रयोग र महिला तथा बालबालिकाविरुद्ध हुने अपराध समावेश गरिएको छ।

अधिकारीका अनुसार पुस्तकमा सामाजिक अपराध, घरेलु हिंसा र उजुरी दिने कार्यविधि, करणीसम्बन्धी कसुर, ट्राफिक सचेतना, विपद्, जोखिम र न्यूनीकरणका उपाय, आत्महत्याका संकेत र बचाउने उपाय, घटनास्थलको सुरक्षा र अपराध तथ्यांक पद्धतिका बारेमा पुस्तकमा सामग्री राखिएको छ।

घटना हुनै नदिन रोकथाम गर्ने उपाय, असल मानिसका कर्तव्य र जिम्मेवारी, चितवन जिल्लामा प्रहरी कार्यालयमा उजुरी दिने तथा सम्पर्कका माध्यम, आत्मरक्षा र बच्ने उपाय, चोरी तथा लुटपाट नियन्त्रणबाट बच्ने उपायका बारेमा विद्यार्थीले बुझ्ने गरी पाठ्य सामग्री तयार गरिएको अधिकारीले बताए।

स्थानीय तह–प्रहरी–विद्यालय सम्पर्क कार्यक्रम सञ्चालनका लागि यो पाठ्यपुस्तकसहित प्रहरी समुदायको माझमा पुगेको उनले बताए।

शैक्षिक संस्थाको बीचमा संस्थागत साझेदारी निर्माण गर्ने उद्देश्यले पाठ्यक्रम तयार गरी कार्यक्रम अघि बढाइएको अधिकारीको भनाइ रहेको छ।

बालबालिकालाई अपराध उन्मुख हुनबाट तथा पीडित हुनबाट जोगाउन सामुदायिक सेवा र सुरक्षाको भावना अभिवृद्धि गर्नुका साथै असल र जिम्मेवार नागरिकका रूपमा विकास गर्नका लागि यो अवधारणा अघि सारिएको उनी बताउँछन्।

उनका अनुसार अब जिल्लाका सबै विद्यालयमार्फत विद्यार्थीमा चेतनामूलक पाठ्य सामग्री पुग्ने छन्।

धेरैजसो हिंसाको चपेटामा स्कुल र क्याम्पसका किशोरकिशोरी हुने गरेको भन्दै उहाँले यो कार्यक्रम प्रभावकारी वन्ने बताए। जिल्लाका सात पालिकामा तीन सय ३८ सामुदायिक विद्यालय रहेका छन्।

यस्तै एक सय ६६ संस्थागत विद्यालय रहेका छन्। तीमध्ये सामुदायिक विद्यालयमा ९६ हजार पाँच सय ८६ र संस्थागत विद्यालयमा ८१ हजार ४८ विद्यार्थी अध्ययनरत रहेका छन्। ठूला विद्यार्थी यो पाठ्यक्रमबाट प्रत्यक्ष लाभान्वित हुने छन्।

साइबर अपराध, यौन हिंसा, लागुऔषधजस्ता अपराध समाजमा बढ्दो क्रममा रहेको र यसमा किशोरकिशोरी बढी प्रभावित भए पछि कार्यालयले पाठ्य सामग्रीनै तयार पारेको हो।

आइतबार इच्छाकामना गाउँपालिकामा पाठ्यपुस्तक हस्तान्तरणपछि जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले अपराध बढ्दा विद्यालय शिक्षाबाट त्यसलाई कम गर्न सकिने बताए। उनले हाल तयार गरिएको पाठ्य सामग्री समाज र देशको सम्पत्ति भएको भन्दै देशभर सन्देश प्रवाह गर्न अनुरोध गरे।

इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले भौतिक पूर्वाधारमा जोड दिने कार्यसँगै समाजको चरित्र सुधार्ने काममा पनि लाग्नुपर्ने बताए। सबैले हातेमालो गरेर अघि बढेमा समाजमा अपराध रोक्न सकिने भन्दै उनले पुस्तक कोसेढुंगा सावित हुने बताए।

कार्यक्रममा सर्वशान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वासु सिलवाल, त्रिवेणी बराह माविका प्रधानाध्यापक युवराज लामा, महिला अधिकारकर्मी मीना खरेललगायतले बोलेका थिए।

प्रकाशित: ४ पुष २०७९ १०:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 19 =