काठमाडौँ– नेपाली कांग्रेसले प्रतिनिधिसभामा समानुपातिकतर्फ ३२ सिट पाएको छ। प्रत्यक्षतर्फ महिलालाई थोरै सिटमा मात्रै टिकट दिएको कांग्रेस समानुपातिकतर्फ भने २९ महिलालाई सांसद बनाउन बाध्य भयो। संविधानअनुसार समावेशी बनाउन कांग्रेसले २९ महिला र ३ सिटमा पुरुष सांसद बनाएको हो। यसपटक भएका ३२ मध्ये ११ जना सांसद पटकपटक दोहोरिएका छन्। त्यसमध्ये कांग्रेसका प्रवक्तासमेत रहेका डा. प्रकाशशरण महत तेस्रोपटक समानुपातिक सांसद बनेका हुन्।
दोस्रो जनआन्दोलनपछि व्यवस्थापिका संसद् ०६३ मा पनि उनी कांग्रेस प्रजातान्त्रिकबाट सांसद मनोनीत भएका थिए। ०६४, ०७० र ०७९ समानुपातिक सांसद बनेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवानिकट भएकै कारण महतले पटकपटक यस्ता अवसर पाएका हुन्।
कांग्रेस नेत्री उमा रेग्मी पनि तीनपटक समानुपातिकबाट सांसद बनिसकेकी छन्। उनी यसपटक भने सांसद छैनन्। रेग्मी ०६३ को पुन:स्थापित सांसदमा मनोनीत, ०६४ र ०७४ को चुनावमा समानुपातिकबाट सांसद बनेकी थिइन्।
कांग्रेस सभापति शेरबहादुर देउवाकी श्रीमती तथा अहिलेकी पार्टी केन्द्रीय सदस्य आरजु राणा देउवा पनि तीनपटकसम्म खस आर्य समूहमा महिलाबाट समानुपातिक सांसद भएकी छन्। उनी ०६४, ०७० र ०७९ मा समानुपातिक सांसद बनेकी हुन्।
पटकपटक समानुपातिकको फाइदा लिनेमा पर्छिन् ईश्वरी न्यौपाने। उनी ०६४, ०७० र ०७९ मा समानुपातिक सांसद बनिन्। अम्बिका बस्नेत पनि तीनपटकसम्म समानुपातिक सांसद बनेकी छन्। बस्नेत ०६४, ०७० र ०७९ मा समानुपातिक सांसद बनेकी हुन्।
मुक्ताकुमारी यादवले पनि प्रतिनिधिसभा र राष्ट्रियसभामा पटकपटक फाइदा लिइसकेकी छन्। ०७० मा समानुपातिक सांसद बनेकी उनी ०७४ मा भने राष्ट्रियसभा सदस्य बनिन्। अहिले उनी फेरि समानुपातिक सांसद बनेर संसद् प्रवेश गर्दैछिन्।
जीवन परियार पनि दलित कोटामा दुईपटक समानुपातिक सांसद बनेका छन्। उनी ०७०, ०७९ मा प्रतिनिधिसभामा समानुपातिक सांसद बनेका हुन्। जीवन परियार जस्तै आशा विक पनि प्रतिनिधिसभा सदस्यमा दोहोरिएर समानुपातिक सांसदको फाइदा लिनेमा पर्छिन्। उनी ०७०, ०७९ मा समानुपातिक सांसद बनेकी हुन्।
जुन समुदायको प्रतिनिधित्व संसद्मा होस् भनेर समानुपातिक व्यवस्था बन्यो तर प्रतिनिधित्व भने उही पहुँचवालाकै मात्रै देखियो। कांग्रेसले यसपटक पनि समानुपातिक सांसद छनोट गर्दा समानुपातिकको मर्मअनुसार गरेको छैन।
यता अञ्जनी श्रेष्ठ, सरस्वती बजिमय, सरिता प्रसाईं पनि दोहोरिएर समानुपातिक सांसद बनेका छन्। यी तीनै जना ०७०, ०७९ को निर्वाचनमा समानुपातिक सांसद बनेका हुन्।
कांग्रेसमा समानुपातिक सांसद पनि पटकपटक भएर अहिले प्रत्यक्षको टिकट लिएर सांसद बन्ने पनि छन्। कांग्रेस उपसभापति धनराज गुरुङ ०६४, ०७० मा समानुपातिक सांसदको फाइदा उठाएका गुरुङ अहिले भने स्याङ्जाबाट प्रत्यक्ष निर्वाचन जितेर आएका छन्। त्यस्तै कांग्रेस सहमहामन्त्री बद्री पाण्डे ७० मा प्रतिनिधिसभामा समानुपातिक सांसद बनेका थिए। ०७४ राष्ट्रियसभा सदस्य बनेका उनी अहिले बाजुराबाट प्रत्यक्ष निर्वाचित भएका छन्।
कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि पनि यस्तै फाइदा उठाउने अर्का नेता हुन्। ०६३ को पुनस्स्थापित संसद्मा सांसद बनेका उनी मंसिर ४ मा सम्पन्न निर्वाचनमा भने समानुपातिक सांसद बने।
समानुपातिक व्यवस्था के हो र कसरी भइरहेको छ प्रयोग?
जुन समुदायको प्रतिनिधित्व संसद्मा होस् भनेर समानुपातिक व्यवस्था बन्यो तर प्रतिनिधित्व भने उही पहुँचवालाकै मात्रै देखियो। कांग्रेसले यसपटक पनि समानुपातिक सांसद छनोट गर्दा समानुपातिकको मर्मअनुसार गरेको छैन।
देशका सबै वर्ग जातजातिले संख्याका आधारमा राज्य संरचनाको सबै तहमा सहभागी हुन पाउने गरी समानुपातिक व्यवस्था सुरु भएको थियो। यसरी सबै वर्ग जातजातिको आधारमा राज्य संरचनामा सहभागी भएपछि मात्रै समानुपातिक प्रतिनिधित्व हुन्छ।
अल्पसङ्ख्यक, सीमान्तकृत एवं पछाडि परेका समुदायलाई राज्य निर्माणको मूलधारमा ल्याउने माध्यम भनिएको समानुपातिकको अवधारणा २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा पहिलोपटक सुरु गरिएको थियो।