फरक क्षमता भएका विद्यार्थीलाई पठनपाठनमै सकस

हिमाल प्रेस १ पुष २०७९ ११:५९
फरक क्षमता भएका विद्यार्थीलाई पठनपाठनमै सकस

गुल्मी- गुल्मीको रेसुंगा नगरपालिका–९ मा रहेको तम्घास माध्यमिक विद्यालयमा बहिरा र बौद्धिक अपांगता भएका विद्यार्थीलाई अध्यापन गराइन्छ।

यहाँ जिल्लाको मालिकाबाहेक अन्य ११ पालिकाका ३० विद्यार्थी छन्। विसं २०५९ देखि आवाससहित अपांगता भएका विद्यार्थीलाई अध्यापन सुरु गरिए पनि हालसम्म आधुनिक प्रविधिको व्यवस्था नहुँदा विद्यार्थी पुरानै शैलीमा पढ्न र सिक्न बाध्य छन्।

यहाँ २० बहिरा अपांगता र १० बौद्धिक अपांगता भएका विद्यार्थी छन्। उनीहरूलाई पूर्णरुपमा निःशुल्क आवासीय सुविधासहित विद्यालयले अध्यापन गराउँदै आएको छ।भर्ना भएपछि प्रतिविद्यार्थी विद्यालयले सरकारबाट चार हजार रुपैयाँ पाउँछन्। चरणचरणमा विभिन्न तालिम लिएका शिक्षकले सांकेतिक भाषाबाट विद्यार्थीलाई पढाउँछन्।

जिल्लामा दुवै प्रकारका क्षमता भएका विद्यार्थीलाई पढाउने एक मात्र विद्यालय उपल्लो तम्घास हो।

हालसम्म एक सयभन्दा बढी विद्यार्थी उपल्लो तम्घासमा कक्षा ५ सम्म पढेर बागलुङ, पोखरा, भैरहवा र काठमाडौँ जाने गरेका छन्। यही विद्यालयले उत्पादन गरेका चार विद्यार्थी हाल कोरिया रहेको पूर्वस्रोत शिक्षक राममणी पन्थीले बताए।थुप्रै विद्यार्थीले नेपालमै सीपमूलक व्यवसाय पनि गरिरहेका छन्।

उपल्लो तम्घास माध्यमिक विद्यालयले कम्तीमा छ वर्ष पुगेको र १६ वर्ष ननाघेका विद्यार्थीलाई समावेश गरेर पढाइरहेको छ।बढीमा ५० यस्ता फरक क्षमता भएका विद्यार्थी यस विद्यालयले अध्यापन गराउन सक्छ । यस विद्यालयको यस्तो सुविधाका कारण अपांगता भएका बालबालिकाका अभिभावक निराश हुनुपरेको छैन।

बालबालिकाको स्याहारसुसार गरिरहनुभएकी रेसुंगा नगरपालिका–७ की सीता घर्तीले सुरुमा बालबालिकाले खान र बोल्न नजान्ने हुँदा केही समस्या भए पनि सिकेपछि सहज भइरहेको बताइन्।अपांगता भएका बालबालिकालाई स्याहारसुसार गर्न पाउँदा खुसी लागेको भन्दै धर्म गर्न योबाहेकको अरु कर्म गर्न नपर्ने उनी बताउँछिन्। उनीसहित तीन जनाले बालबालिकाको हेरचाह गर्दै आएका छन्।

घरमा आफ्नै भाषा सिकाउने कारण विद्यालयमा आउँदा सांकेतिक भाषा नजान्दासम्म विद्यार्थीलाई सिकाउन ग्राहो हुने स्रोत शिक्षक ज्ञानेन्द्र राज मरासिनीले बताए।‘सुरुमा विद्यालय आउन ग्राहो मान्ने विद्यार्थी सांकेतिक भाषा सिकेपछि घरमा बस्न ग्राहो मान्छन्’, उनी भन्छन्, ‘शैक्षिक सामग्री धेरै प्रयोग गरेर सिकाउनुपर्छ’, उनले भने।

सिकाउँदै गएपछि सहज हुने शिक्षक मरासिनीको भनाइ छ। अन्य बोलेर पढाउने विद्यार्थीभन्दा यी सांकेतिक रुपमा पढाउने विद्यार्थी सिकाइमा बढी सक्रिय हुने गरेको उनले बताए।विद्यालयका प्रधानाध्यापक पिंकी घिमिरे भुसालले अपांगता भएका विद्यार्थीलाई लामो समयदेखि अध्यापन गराउँदै आएपनि आधुनिक प्रविधिको अभाव रहेको बताए।

‘हामीले सक्दो र जानेको त सिकाइरहेका छौँ’, उनी भन्छन्, ‘अहिलेका प्रविधिसँग विद्यार्थीलाई साक्षात्कार गराउन सकेका छैनौँ’, उनले गुनासो गरे। आफूहरुको इच्छा भएर पनि त्यस्तो बाताबरण बन्न नसकेको उनको भनाइ छ। जिल्लाभर भएका अपांगता विद्यार्थीलाई लेखाजोखा समिति गुल्मीले हेर्दै आएको छ। समितिका संयोजक राममणी पन्थीले संघीयता कार्यान्वयनसँगै बनेका गाउँगाउँका सरकार अपांगताप्रति उदासीन बनेको बताए।

प्रकाशित: १ पुष २०७९ ११:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast