काठमाडौँ- चिकित्सक पेसालाई सामान्यतया समाजसेवाका रूपमा हेरिन्छ। तर, कतिपय चिकित्सकहरूले समाजसेवाको उत्तम विकल्पका रूपमा राजनीति पनि रोज्ने गरेका छन्।
पछिल्लो समय चिकित्सकहरू पनि राजनीतिमा आउने क्रम बढ्दै गएको छ। मंसिर ४ मा भएको आम निर्वाचनमा पनि केही डाक्टरहरूले प्रतिस्पर्धा गरेका थिए। आफूलाई समाज परिवर्तनको संवाहकको रूपमा स्थापित गर्ने अभियानस्वरूप उनीहरू प्रतिस्पर्धामा होमिएका थिए।
चिकित्सा पेसा हुँदै राजनीतिमा प्रवेश गरेका डा. शेखर कोइराला, डा. शशांक कोइराला र डा. तोसिमा कार्की प्रत्यक्षबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। कोइराला दाजुभाइ नेपाली कांग्रेस र कार्की राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका हुन्।
चिकित्सक मात्र नभएर चिकित्सकीय पेसा व्यवसाय अवलम्बन गर्नेहरू पनि यस प्रतिनिधिसभामा निर्वाचित भएका छन्। मोरङ–३ बाट निर्वाचित कांग्रेसका सुनिल शर्मा मेडिकल कलेज सञ्चालक हुन्।
चिकित्सक पेसा छाडेर पूर्णकालीन राजनीतिमा होमिएकाहरूले राजनीतिलाई नै समाजसेवाको उत्तम विकल्पको रूपमा अघि बढाउँदा केहीले सकारात्मक रूपमा लिए पनि धेरैले नकारात्मक टिप्पणीहरू गर्ने गरेका छन्।
चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)का पूर्व डिन प्रा. डा.जगदीशप्रसाद अग्रवालले चिकित्सा क्षेत्रबाट अवकाश भएपछि राजनीतिमा लाग्नुलाई सामान्य रूपमा लिन सकिने बताए। तर सेवा अवधिकै बीचमा चिकित्सा पेसालाई छाडेर समाजसेवाको नाममा राजनीतिमा लाग्नु उचित नहुने उनको भनाइ छ।
‘यस विषयमा व्यक्तिको आफ्नो सोचाइको कुरा हो। राजनीति गर्ने सोच भएको व्यक्ति मेडिकल क्षेत्रमा प्रवेश गर्नु नै आवश्यक हुँदैन,’ उनी भन्छन्, ‘राम्रा पढेलेखेका मानिस पनि राजनीतिमा आउनुपर्छ तर समाजसेवा गर्ने नाममा चिकित्सा पेसा नै छोड्न हुँदैन।’
पेसा नै छोडेर राजनीतिलाई यसको विकल्प बनाउनु उचित नहुने उनी बताउँछन्। राजनीतिलाई पेसाको रूपमा विकास गर्न नहुने पनि उनको भनाइ छ। सेवा अवधिकै बीच पूर्णकालीन राजनीतिमा लाग्दा सरकारको लगानी खेर जाने प्रा.डा. अग्रवाल बताउँछन्।
तर, राजनीति अपनाएका चिकित्सकहरू भने यो मान्न तयार छैनन्। स्वास्थ्य र समग्र मुलुकको मुहार्न फेर्न पनि आफूहरू राजनीतिमा आउनु परेको डा. तोसिमा कार्की बताउँछिन्। ‘स्वास्थ्य क्षेत्र र समग्र मुलुकको मुहार्न फेर्न राजनीति नै उपयुक्त देखेपछि चिकित्सा पेसा छाडेर राजनीतिमा आएको हुँ,’ उनले भने, ‘एउटा व्यक्ति अनेक ठाउँका आवाज उठाउँदै हिँड्न सम्भव नहुने रहेछ। त्यसैले म संसद्मा गएरै हरेक विकृतिका आवाज उठाउन र समस्या समाधन गर्न राजनीतिमा होमिएकी हुँ।’
मेडिकल शिक्षातर्फ देखिएको बेथितिप्रति तोसिमाले डा. गोविन्द केसीको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै आवाज उठाउँदै आएकी थिइन्। मंसिर ४ मा भएको आम निर्वाचनमा देशभरबाट विभिन्न स्थानमा गरी एक दर्जन चिकित्सक उम्मेदवार बनेका थिए। तर, केही मात्र विजयी भएका छन्।
डा. शेखर कोइराला
नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिको उम्मेदवारका रूपमा प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका नेता कोइराला अहिले मोरङ–६ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
उनी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रमुख भएर काम गरिसकेका व्यक्ति हुन्। उनले जनरल फिजिसियनको रूपमा वीर अस्पताल र कोसी अञ्चल अस्पतालमा काम गरिसकेका छन्। उनले चिकित्सक पेसा छोड्दै कांग्रेसमार्फत् आफ्नो राजनीतिक यात्रा अगाडि बढाइरहेका छन्।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापनाका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका कोइराला नेकपा माओवादीलाई शान्तिप्रक्रियामा ल्याउन पहल गर्दादेखि नै राजनीतिमा बढी सक्रिय भएका व्यक्ति हुन्। २०६२ यता उनी सक्रिय राजनीतिमा छन्।
उनले दिल्लीको अल इण्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्सेसमा रहँदा भारतका राजनीतिज्ञसँग पनि सम्बन्ध विस्तार गरेका थिए। चिनियाँसँग पनि उनको राम्रै सम्पर्क छ। चीन, भारत र अमेरिकी मुलुकहरूसँग पनि उनले सम्बन्ध विस्तार गर्दै आफूलाई अब्बल राजनीतिज्ञको सूचीमा राख्न सफल भएका छन्।
डा. शशांक कोइराला
डा. शशांक कोइराला नेपाली कांग्रेसका निर्वाचित केन्द्रीय सदस्य हुन्। उनी यसअघिको १३ औँ महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका थिए।
उनी नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाका पुत्र हुन्। उनी चर्चित ओप्थ्याल्मोलोजिष्ट (आँखाको डाक्टर) हुन्। राजनीतिमा लाग्नुपूर्व शशांकले काठमाडौँको त्रिवि शिक्षण अस्पताल एवं बीपी कोइराला मेमोरियल अस्पतालमा काम गरेका थिए।
आँखाको अप्रेसन गर्ने डा. कोइराला अब नेपाली राजनीतिको नीति निर्माण तहमा पुगेका छन्। चिकित्सक पेसा छोडेर २०६४ सालको संविधानसभाको निर्वाचनमा तत्कालीन नवलपरासी–१ बाट निर्वाचित कोइराला त्यसयता कांग्रेसको सक्रिय राजनीतिमा छन्। उनी लगातार तीनपटक यसै क्षेत्रबाट निर्वाचित भएका छन्।
डा. तोसिमा कार्की
डा. तोसिमा कार्कीले गत मंसिर ४ को निर्वाचनमा प्रतिस्पर्धा गर्न पाटन अस्पतालबाट राजीनामा दिएकी थिइन्। चिकित्सा पेसा छोडेर उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नं ३ बाट प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गरेकी थिइन्। पहिलो पटक निर्वाचन लडेकी उनले जित निकाल्न पनि सफल भइन्। उनी प्रतिनिधिसभा सदस्यमा ठूलो मतान्तरले निर्वाचित भएकी हुन्।
उनले यसअघि चिकित्सक हुँदा पनि मेडिकल विद्यार्थीले तिर्नुपरेको चर्को शुल्क र त्यहाँभित्रका अत्याचारविरुद्ध आवाज उठाएकी थिइन्।