जब राणा पत्‍नीले रवाफ देखाउन महात्मा गान्धी पत्‍नी कस्तुरबाको स्मारक कोषमा दान दिइन्…

सन्तोष खडेरी २४ मंसिर २०७९ १७:०८
2.2k
SHARES
जब राणा पत्‍नीले रवाफ देखाउन महात्मा गान्धी पत्‍नी कस्तुरबाको स्मारक कोषमा दान दिइन्…

काठमाडौँ- राणाकालमा आमजनता त गरिब थिए तर रोलवाला राणाहरू भने आर्थिक रूपमा असाध्यै सम्पन्न थिए। शासनसत्ताको केन्द्रबिन्दुमा रहेका राणाशासकका लागि त्यतिबेला मुलुकको ढुकुटी आफ्नै निजी सम्पत्तिसरह थियो। रोलवाला राणाहरूमध्ये वीरशमशेर र चन्द्रशमशेरका सन्तान आर्थिक रूपमा सबैभन्दा बढी सम्पन्न थिए।

रणोद्वीप सिंहको हत्या गरी शासनसत्ता सम्हालेका वीरशमशेरको कार्यकालमा शमशेर खलकद्वारा जंग खलकको सफाया भयो। यसरी जंगखलकको ज्यान हरण हुँदा र उनीहरूले देश छोड्दाको सम्पत्ति समेत हरण भएर शमशेर खलकमा आउँदा सर्वेसर्वा प्रधानमन्त्री वीरशमशेर असाध्यै सम्पन्न भए। धेरै लामो समय २८ वर्षसम्म मुलुकको शासनभार सम्हालेका कारण चन्द्रशमशेरका सन्तान पनि आर्थिक रूपमा धेरै सम्पन्न थिए।

भारतीय स्वतन्त्रता आन्दोलनका शीर्षर्थ नेता मोहनदास करमचन्द गान्धी अर्थात् महात्मा गान्धीको पत्नी नाम कस्तुरबा गान्धी थियो। द्वितीय विश्वयुद्ध चलिरहेको समयमा सन् १९४२ अगष्टमा महात्मा गान्धीले सुरु गरेको ‘भारत छोडो’ आन्दोलनका क्रममा उनी त्यहाँको सुरक्षा कानुनअन्तर्गत नजरबन्दमा थिए। त्यसो त उनी भारतमा औपनिवेशिक सरकारका पालामा त्यस अघि नै पटक-पटक हिरासत परेका थिए। त्यतिबेला गान्धी बन्दी अवस्थामा नै रहेका बेला उनकी पत्नी कस्तुरबाको सन् १९४४ को फेब्रुअरी २२ मा निधन भएको थियो।

भारतीय स्वतन्त्रता आन्दोलनकि शीर्षर्थ महिला नेतृ सरोजनी नायडु भारतीय राष्ट्रिय कांग्रेससँग जोडिएकी थिइन्। उनले कुनै समय त्यसको नेतृत्वसमेत गरेकी थिइन्। त्यस्तै उनी ‘अल इन्डिया वुमन कन्फ्रेन्स’सँग पनि जोडिएकी थिइन्। भारतीय स्वतन्त्रता ताका सन् १९४७ मार्च/अप्रिलमा ‘इन्डियन काउन्सिल अफ वर्ल्ड अफेयर्स’ ले दिल्लीमा आयोजना गरिएको ‘एशियन रिलेसन कन्फ्रेन्स’ को अध्यक्षता उनै नायडुले गरेकी थिइन्।

पद्‌मशमशेरको समयमा नेपालबाट जनरल विजयशमशेरको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलले समेत उक्त सम्मेलनमा भाग लिएको थियो। भारत स्वतन्त्र भएलगत्तै नायडु उत्तरप्रदेशको प्रथम भारतीय गभर्नरसमेत नियुक्त भएकी थिइन्। गभर्नर रहेकै समयमा सन् १९४९ मा उनको निधन भएको थियो।

नेपालकी रानी भक्तिदेवी मेजर जनरल लिलाशमशेर जबराकी पत्नी थिइन्। त्यतिबेला रोलवाला राणाजीका श्रीमतीहरूलाई रानी भन्ने प्रचलन थियो। लिलाशमशेर वीरशमशेरका नाती एवम् नेपालका प्रथम वैज्ञानिक गेहेन्द्रशमशेर जबराका जेठा छोरा थिए। वीरशमशेरका जेठा छोरा गेहेन्द्रका पनि जेठा छोरा थिए लिलाशमशेर जबरा।

वीरशमशेरका सन्तान भएकाले लिलाशमशेर आर्थिक रुपमा पनि असाध्यै सम्पन थिए। २००७ सालमा प्रजातन्त्रको घोषणा पछि राणा-कांग्रेस संयुक्त मन्त्रीमण्डलमा मन्त्री हुने चूडाराजशमशेर जबरा यिनै लिलाशमशेरका छोरा हुन्। लिलाशमशेर वीरशमशेरले गेहेन्द्रशमशेरका लागि निर्माण गरिदिएको भब्य सेतो दरबारमा बस्दथे। सेतो दरबार १९९० सालको भुकम्प भन्दा केही महिना अघि मात्र आगलागी भएको थियो।

सन् १९३० को दशकको उत्तरार्धतिर लिलाशमशेर दम्पती भारततिर बसोबास गरिरहेका थिए। त्यहाँको सेयर बजारमा उनको लगानी त थियो नै त्यस्तै त्यहाँको विभिन्न बैंकमा पनि उनको ठूलो रकम जम्मा मौज्दात थियो। राणा शासक र तिनका सन्ततिहरू प्रथम र द्वितीय विश्वयुद्धका समयमा ब्रिटिस सरकारको युद्ध कोषमा जम्मा गर्ने गर्दथे। राणा प्रधानमन्त्री चन्द्रशमशेरले सन् १९०८ मा सम्पन्न आफ्नो बेलायत भ्रमणका क्रममा त्यहाँका गरिव देखि अन्य विभिन्न परोपकारी संस्थालाई दान दिएका थिए।

त्यस्तै राणा प्रधानमन्त्रीहरूले हिन्दुवादी संगठनदेखि विभिन्न उद्दार तथा अन्य कोषमा समेत बारम्बार सहयोग गर्ने गर्दथे। बनारस विश्वविद्यालयअन्तर्गत बनारसमा आयुर्वेद कलेज खुल्दा प्रधानमन्त्री चन्द्रशमशेरले त्यतिबेला २ लाख रुपैयाँ सहयोग गरेका थिए। राणा प्रधानमन्त्री मात्र होइन यस्ता कोषमा दान सहयोग दिने मामिलामा उनीहरूका सन्तति पनि थिए।

राणा शासकका सन्तति रोलवाला राणाहरूलाई धन प्रशस्त भएकाले भारततिर आफ्नो उच्च रवाफ पनि देखाउनका लागि होला उनीहरू पनि विभिन्न कोषमा दान सहयोग दिने गर्दथे। रानी भक्तिदेवीले गान्धी पत्‍नी कस्तुरबाको निधनको करिब डेढ महिना भित्रमा बम्बेको ताज महल होटेलमा एउटा भव्य पार्टी दिएकी थिइन्।

सन् १९४४ को अप्रिल ५ तारिखका दिन दिइएको त्यस पार्टीमा नेतृ सरोजनी नायडुसहित ‘अल इन्डिया वुमन कन्फ्रेन्स’सँग सम्बन्धित अन्य थुप्रै महिलाहरू पनि उपस्थित थिए। त्यही कार्यक्रममा रानी भक्तिदेवीले कस्तुरबा स्मारक कोषका लागि सरोजनी नायडुलाई २० हजार १ रुपैयाँ प्रदान गरेकी थिइन्। (दी बम्बे क्रोनिकल ६ अप्रील १९४४)

प्रकाशित: २४ मंसिर २०७९ १७:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast