काठमाडौँ– रवि लामिछानले प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी)शिक्षकहरूको माग सम्बोधनका लागि पहल गर्ने भएका छन्।
ईसीडी शिक्षकहरूले लामिछानेलाई बुधबार ज्ञापन पत्र बुझाउँदै आफ्ना मागहरू सम्बोधन गर्न आग्रह गरेपछि ती मागहरू सम्बोधनका लागि आफूले पहल गर्ने प्रतिबद्धता जनाएका हुन्।
चितवन २ बाट निर्वाचित सांसद् एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति उनलाई ईसीडी शिक्षकहरूले ७ बुँदे ज्ञापन पत्र पेश गरेका हुन्।
ईसीडी शिक्षक जिल्ला समिति चितवन अध्यक्ष रेखा रानाभाटसहितको टोलीले सांसद लामिछानेलाई ज्ञापन पत्र बुझाउँदै आफूहरूको समस्या अवगत गराएकी हुन्।
उनीहरूले ईसीडी शिक्षकलाई स्थानीय तहले नभई संघीय सरकारले नै सेवा सुविधाको दिनुपर्ने, तलब तथा सेवासुविधा थप गर्नुपर्ने, निजामती कर्मचारी सरह सेवासुविधा पाउनुपर्ने, एक पटकको लागि उमेरहद नलाग्ने गरी आन्तरिकबाट स्थायी प्रक्रियामा लानुपर्ने व्यवस्थाको माग राखेका छन्।
यस्तै अवकास समयमा उपदानको व्यवस्था हुनुपर्ने, सबै सामुदायिक विद्यालयका बालविकास केन्द्रलाई आधुनिक प्रविधिसहित स्रोतसाधन सम्पन्न बनाइनु पर्ने, सरकारी शिक्षकले सरह बिदा पाउनुपर्ने, दुर्घटना र स्वास्थ्य बिमाको व्यवस्था हुनुपर्ने पनि उनीहरूले माग गरेका छन्।
ज्ञापन पत्र बुझ्दै लामिछानेले ईसीडी शिक्षकका माग पूरा गर्न आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।