काठमाडौँ- स्वरसम्राट नारायणगोपालको ३२औँ स्मृति दिवस। नेपाली संगीतका महान् गायकका रूपमा उनी चिनिन्छन्।
काठमाडौँ किलागलमा विक्रम संवत् १९९६ असोज १८ गते उनको जन्म भएको थियो। शास्त्रीय संगीत साधक पिता आशागोपाल गुरुवाचार्यको छत्रछायामा रहेर उनी संगीततर्फ आकर्षित भएका थिए। तर शास्त्रीय संगीत छाडेर आधुनिक गीततर्फ लागेपछि आशागोपाल उनीसँग रुष्ट भए। तर बुबाकै इच्छा पूरा गर्न नारायणगोपालले पछि भारतको बरोडा गएर शास्त्रीय संगीत सिके।
२० को दशकको उत्तरार्धतिर रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गाएर स्वर परीक्षा पास गरेका थिए। ३० वर्ष लामो गायनयात्रामा उनले १३७ गीत गाएको संगीतका अध्येता प्रकाश सायमी बताउँछन्। आधुनिक गीतका साथै उनले केही चलचित्रमा समेत गाएका छन्।
सांस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। दार्जिलिङबाट आएका गोपाल योञ्जन, धनकुटाका नगेन्द्र थापा र नारायणगोपालको समूह बनेको थियो। थापाको गीत, याञ्जनको संगीतमा नारायणगोपालले थुप्रै गीत गाए।
योञ्जन र नारायणगोपालले दार्जिलिङमै मित लगाएका थिए। नारायणगोपालले ‘एउटा मान्छेको मायाले कति’, दुईटा फूल द्यौरालीमा’, ’पोखिएर घामको झुल्का’, ‘पर्खी बसेँ आउला भनी’, ‘तिम्रो जस्तो मुटु मेरो पनि’, ‘मेरो बेहोसी आज’, मेरो आँखालाई राख्ने’, श्रद्धाको फूल चढाइदिनु, ‘स्वर्गकी रानी मायाकी खानी’, ’ए कान्छा ठट्टैमा यो बैस जान लाग्यो’ लगायत कालजयी गीत गाएका छन्।